वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी


रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै वाम आन्दोलनलाई बलियो बनाउने बताएकी छिन् । 

मंगलबार आयोजित कार्यक्रममा उनले पार्टीले दिएको नयाँ जिम्मेवारीबाट थप ऊर्जा प्राप्त भएको बताइन् ।  एमालेले  असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो । 

बाल्यकालदेखि एमालेसँग आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीति विरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै भण्डारीले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताइन् ।

विगतमा पार्टीभित्र देखिएका कमजोरी र गल्तीलाई सच्याउँदै अघि बढ्नुपर्ने धारणा उनको छ ।    विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको उनले बताइन् । 

२०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आए पनि त्यसपछिको विभाजनले राजनीतिक क्षति भएको उनले बताइन् ।  “नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ । त्यसैले हामीभित्र रहेका कमी-कमजोरी सुधारेर अघि बढ्नुपर्छ”, उनको भनाइ छ । 

भण्डारीले जनताको विश्वास जितेर राजनीतिक आस्था बलियो बनाउनुपर्नेमा बताइन् ।  मूलधारका राजनीतिक दल विभाजित हुँदा त्यसको प्रभाव समग्र राजनीतिक क्षेत्रमा परेको उनको भनाइ छ । 

एउटा निर्वाचन परिणामका आधारमा निराश हुनुपर्ने अवस्था नरहेको उनले बताइन् ।  राष्ट्रिय स्वाभिमानको संरक्षण र नेपाली जनताको जीवनस्तर सुधारलाई राजनीतिको केन्द्रमा राखेर एमाले अघि बढ्ने उनको भनाइ छ । रासस