समलिङ्गी विवाह दर्ताबाट इतिहास रचेका सुरेन्द्र पाण्डे अर्को इतिहास रच्न चुनावी मैदानमा


काठमाडौँ । नेपाली कांग्रेसमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट युवा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन्। दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डे नवलपुर–१ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका हुन्।

समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेर इतिहास रचेका २८ वर्षीय पाण्डे नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर–१ मा मंगलबार हुने क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिएका छन्। उनले अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका छन्।

कांग्रेसमा यसअघि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट हाल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रहेकी भूमिका श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा मनोनीत भएकी थिइन्। तर, यो पटक समुदायबाट पाण्डे चुनावी प्रतिस्पर्धामै उत्रिएका छन्।

अल्पसंख्यक कोटामा पाण्डेसँगै गौतम दराईले उम्मेदवारी कायम राखेपछि अन्ततः मतदान नै हुने भएको छ। अर्का एक जनाले भने उम्मेदवारी फिर्ता लिएका छन्। अब पाण्डे र दराईबीच अल्पसंख्यक कोटामा प्रतिस्पर्धा हुनेछ।

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पाण्डे सर्वसम्मत निर्वाचित भएका थिए। नवलपुर–१ मा फरक लैङ्गिक पहिचानसँगै पाण्डेले कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरूमाझ मत मागिरहेका छन्।

पाण्डे ४० वर्षमुनिका ४० प्रभावशाली युवाको सूचीमा समेत परेका थिए। उनीसमेत रहेको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई निर्वाचनमा आरक्षणको व्यवस्था गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ।