काठमाडौ । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्री कार्यालयले सात महिनापछि आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रधानमन्त्रीको टोलीमा रहेका २५ जना पदाधिकारी तथा कर्मचारीको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्रीसरहको जिम्मेवारी तथा सुविधा पाउने व्यक्तिहरूसमेत रहेका छन्।
विवरणमा कुमार ब्यञ्जनकारलाई अवैतनिक मुख्य राजनीतिक सल्लाहकारका रूपमा उल्लेख गरिएको छ। त्यस्तै असिम शाह प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार छन्। दुवैलाई मन्त्रीसरहको तलब तथा सेवा–सुविधा उपलब्ध गराइएको उल्लेख छ।
त्यसैगरी प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई अवैतनिक स्वास्थ्य सल्लाहकारका रूपमा राखिएको छ। उनलाई पनि मन्त्रीसरहको सेवा–सुविधा दिइएको विवरणमा उल्लेख छ। प्रधानमन्त्रीको नीति, प्रशासन तथा सुशासन सल्लाहकारमा सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारमा विवेक मिश्र रहेका छन्। उनीहरूलाई राज्यमन्त्रीसरहको सुविधा उपलब्ध गराइएको कार्यालयको विवरणमा उल्लेख छ।
प्रधानमन्त्रीको सचिवालयमा रहेका अन्य पदाधिकारी तथा कर्मचारीको जिम्मेवारी, पद र सेवा–सुविधासम्बन्धी विवरण पनि प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ। सचिवालयमा कार्यरत व्यक्तिहरूको विवरण सार्वजनिक भएपछि प्रधानमन्त्रीको सल्लाहकार समूहको संरचना, जिम्मेवारी र राज्यबाट उपलब्ध हुने सेवा–सुविधाबारे थप सार्वजनिक चासो बढ्ने देखिएको छ।




प्रतिक्रिया