कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतमको उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

२०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा सक्रिय गौतमले पद्मकन्या क्याम्पसको स्ववियु सभापतिदेखि नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र महामन्त्री हुँदै कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यसम्मको जिम्मेवारी सम्हालेकी छन्।

आफ्नो उम्मेदवारी घोषणा गर्दै गौतमले ‘संघर्ष, सेवा र इमान्दारिता’लाई आफ्नो राजनीतिक यात्राको आधार बताएकी छन्। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै बलियो कांग्रेस र समुन्नत देश निर्माणका लागि आफू नेतृत्व तहमा थप सक्रिय हुन चाहेको उनको भनाइ छ।

उनले अहिलेसम्मको राजनीतिक यात्रामा साथ, सहयोग र विश्वास गर्ने अग्रज, सहकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी महाधिवेशनमा पनि सहयोगको अपेक्षा गरेकी छन्।

गौतमको उम्मेदवारी घोषणासँगै कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।