काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, जलस्रोत, जलवायु उत्थानशीलता तथा सुशासनका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने सहमति भएको छ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार नेपालको जलविद्युत् तथा प्रसारण पूर्वाधारमा भारतीय लगानी प्रोत्साहन गरिने भएको छ।
भ्रमणका क्रममा जारी ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ शीर्षकको संयुक्त दृष्टिकोण दस्ताबेजमा ऊर्जा क्षेत्रको सहकार्यलाई थप विस्तार गर्ने उल्लेख छ।
‘विद्युत् क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण पत्र’अनुसार भारतले नेपालको जलविद्युत् आयोजना र प्रसारण पूर्वाधारमा लगानी प्रोत्साहन गर्नेछ। नेपालले पनि लगानीका लागि अनुकूल वातावरण निर्माण गर्दै आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, दुवै देशले बजारको माग र पारस्परिक लाभका आधारमा विद्युत् व्यापार विस्तार गर्ने सम्भावना खोज्ने भएका छन्।
जलस्रोतको उपयोग र बाढी नियन्त्रणका लागि पञ्चेश्वर, सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनासहित निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् परियोजनालाई तीव्रता दिने सहमति पनि भएको छ।
परम्परागत जलविद्युत्का अतिरिक्त सौर्य तथा भूगर्भीय ऊर्जाको विकासमा सहकार्य गर्ने र नेपालमा हरित हाइड्रोजनसम्बन्धी परीक्षण परियोजना सञ्चालन गर्ने विषयसमेत दस्ताबेजमा समेटिएको छ।
विपद् जोखिम न्यूनीकरण र हिमताल अनुगमनमा सहकार्य
नेपाल र भारतले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने सहमति गरेका छन्।
यसअन्तर्गत जल तथा मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमतालको अनुगमन र वास्तविक समयमै सूचना प्रवाह गर्ने दुईतर्फी प्रणाली विकास गरिनेछ। साथै, संयुक्त विपद् राहत तथा मानवीय सहायता अभ्यास, तालिम र क्षमता अभिवृद्धिमा सहकार्य गरिनेछ।
वातावरण तथा जलस्रोत व्यवस्थापनका क्षेत्रमा भारतले आफ्नो प्राविधिक अनुभव र विशेषज्ञता नेपालसँग आदानप्रदान गर्नेछ। नेपाली युवा पेसाकर्मी, सरकारी अधिकारी तथा विज्ञलाई नीति निर्माण, वन विज्ञान, जोखिम नक्साङ्कन र जलवायु उत्थानशील कृषिलगायतका विषयमा तालिमको अवसर उपलब्ध गराइनेछ।
त्यस्तै, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, विपद् उत्थानशील पूर्वाधार गठबन्धन, इसिमोड र अन्तर्राष्ट्रिय बिग क्याट गठबन्धनजस्ता बहुपक्षीय मञ्चमा समेत सहकार्य विस्तार गरिने भएको छ।
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा भारतीय सहयोग
दुई देशबीच सुशासन र डिजिटल प्रविधिको क्षेत्रमा पनि सहकार्य गर्ने सहमति भएको छ।
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनलाई प्रभावकारी बनाउन डिजिटल पहिचान, भुक्तानी प्रणाली र विद्युतीय शासन (ई–गभर्नेन्स) सम्बन्धी प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदान गरिनेछ।
यसका साथै डिजिटल सार्वभौमसत्ता र तथ्याङ्क सुरक्षाका मान्यताअनुसार डिजिटल सार्वजनिक पूर्वाधार विकासमा सहकार्य गरिने दस्ताबेजमा उल्लेख छ।
संस्थागत क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र (एनसीजीजी) मार्फत नेपाली निजामती कर्मचारीलाई भारतमा तालिम उपलब्ध गराउने सहमति पनि भएको छ।
दुई प्रधानमन्त्रीबीच भएको सहमतिले ऊर्जा, जलस्रोत, वातावरण, प्रविधि र प्रशासनिक क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया