काठमाडौं । कानुनमन्त्री सोविता गौतमले स्वास्थ्य बिमामा आर्थिक योगदान गर्न नसक्ने नागरिकको दायित्व सरकारले लिनुपर्ने बताएकी छन्।
मंगलबार (मंसिर ८) मन्त्रालयमा आयोजित स्वास्थ्य बिमासम्बन्धी छलफलमा मन्त्री गौतमले आर्थिक अवस्थाका कारण कुनै पनि नागरिक स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित हुन नहुने धारणा राखेकी हुन्।
उनले हरेक नागरिकलाई स्वास्थ्य बिमाको दायरामा समेट्ने गरी विद्यमान कार्यक्रमलाई परिमार्जन गर्नुपर्नेमा जोड दिइन्। बिरामी भएर अस्पताल पुग्दा नागरिकले सहज रूपमा बिमामार्फत उपचार सेवा पाउने व्यवस्था मिलाउनु सरकारको प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो।
‘घरमा कोही बिरामी पर्दा परिवारको पहिलो चिन्ता उपचार खर्च कसरी जुटाउने भन्ने हुनु हुँदैन। हरेक नागरिकले आफूलाई आवश्यक परेको समयमा स्वास्थ्य बिमामार्फत उपचार पाउने विश्वास गर्न सक्नुपर्छ,’ मन्त्री गौतमले भनिन्।
बिमामा योगदान गर्न नसक्ने नागरिकको जिम्मेवारी राज्यले लिनुपर्ने उल्लेख गर्दै उनले नागरिकका गुनासा सम्बोधन हुने गरी स्वास्थ्य बिमा प्रणालीमा सुधार आवश्यक रहेको बताइन्।




प्रतिक्रिया