ललितपुर । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न तथा किसानले पाउन बाँकी रहेको बक्यौता रकम अविलम्ब भुक्तानी गराउन सरकारसँग माग गरेको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा मङ्सिर ९ गते पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उखुको मूल्य निर्धारणमा सरकारले देखाएको ढिलासुस्तीप्रति पार्टीले गम्भीर चासो व्यक्त गरेको उल्लेख छ।
उखु बिक्री गर्ने समय नजिकिँदै गर्दा किसानमा बढ्दै गएको अन्योल र चिन्तालाई तत्काल सम्बोधन गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
पार्टीले उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार मानेर किसानलाई उचित मूल्य उपलब्ध गराउनुपर्ने धारणा राखेको छ। साथै, उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको रकम तत्काल उपलब्ध गराउनसमेत माग गरेको छ।
मङ्सिर ८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा मङ्सिर ९ गतेसम्म ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्।




प्रतिक्रिया