उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री गरिने,जुनसुकै सिलिण्डर साट्न पाइने


काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले चाडपर्वका बेला उपभोक्तालाई ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न काठमाडौं उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री तथा सिलिण्डर साटफेर गर्ने भएको छ।

संघका अनुसार असोज २५ देखि ३१ गतेसम्म सञ्चालन हुने यो व्यवस्थाअन्तर्गत बिहान ९:३० देखि अपराह्न ४:३० बजेसम्म ग्यास बिक्री तथा साटफेर गर्न सकिनेछ।

ग्यास बिक्री तथा साटफेरका लागि काठमाडौंको सिफलचौरमा एभरेष्ट र सुगम, पेप्सीकोलामा सगर, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास उपलब्ध हुनेछन्। त्यस्तै, सुकेधारामा बाबा र श्री, कलंकीमा साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास बिक्री गरिने संघले जनाएको छ।

संघका अनुसार भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको छ। गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६ सय ६१ सिलिण्डर ग्यास बिक्री वितरण भएको थियो।

उपत्यकामा ग्यास आपूर्ति सामान्य बन्दै गए पनि चाडपर्वको समयमा ग्यास पाउन कठिन भएको र फरक ब्रान्डका सिलिण्डर साट्न समस्या परेको उपभोक्ताको गुनासोपछि यस्तो व्यवस्था गरिएको संघले जनाएको छ।

यद्यपि, तोकिएका केन्द्रबाट काठमाडौं उपत्यकामा बिक्री वितरण हुने ग्यासका सिलिण्डर मात्रै साट्न पाइनेछ। संघले निर्धारित बिक्री केन्द्रबाहेक अन्य स्थानबाट सिलिण्डर साटफेर नहुने स्पष्ट पारेको छ।