काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जनाएको छ । स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।
“यस प्राधिकरणबाट स्वीकृत सेवा शुल्कको दररेटभन्दा बढी सेवा शुल्क लिने, प्राधिकरणको स्वीकृतिबेगर शुल्क वृद्धि गर्ने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गरेको पाइएमा यस प्राधिकरणबाट दूरसञ्चार ऐन, नियमबमोजिम कारबाही गरिने व्यहोरा समेत अनुरोध छ,” प्राधिकरणले शुक्रबार (असोज २३) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल इन्टरनेट तथा इमेल सेवाप्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र यससम्बन्धी स्वीकृति पनि नदिइएको प्राधिकरणले जनाएको छ । “इन्टरनेटको सेवा शुल्क वृद्धि गर्ने गरी हालै इन्टरनेट इमेल सेवाप्रदायकहरूबाट यस प्राधिकरणमा कुनै प्रस्ताव नभएको र यस प्राधिकरणवाट इन्टरनेट इमेल सेवाको सेवा शुल्क वृद्धि गर्ने गरी कुनै स्वीकृति प्रदान नगरिएको व्यहोरा सम्बन्धित सबैमा प्राधिकरण स्पस्ट पार्न चाहन्छ,” विज्ञप्तिमा भनिएको छ ।
प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागु हुने मिति समेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका निम्ति पेस गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।
“इन्टरनेट सेवाप्रदायकहरूले यस प्राधिकरणबाट स्वीकृत दररेटभन्दा बढी सेवा शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताहरूको हकहितविपरीत कार्य गरेको भए यस प्राधिकरणमा गुनासो गर्न सक्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराउँदछ,” प्राधिकरणले भनेको छ ।




प्रतिक्रिया