विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ हुँदैछ । बिहान ९ः३० बजेबाट सुरु हुने सम्मेलनका लागि सबै प्रदेशका मुख्यमन्त्री विराटनगर पुगिसकेका छन् । सम्मेलन भोलिसम्म हुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सहभागी हुनेछन् ।
सम्मेलनमा प्रदेशहरूबीच अनुभव आदानप्रदान, अहिलेसम्म भएगरेका काम, उपलब्धि चुनौती, कमजोरीलगायतको विषयमा छलफल हुने कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले बताए ।
छलफलमा कानुन निर्माणका क्रममा देखिएका चुनौती, प्रदेशमा भएगरेका सफल अभ्यास अन्यत्र लागू गर्न मन्थन हुने बताइएको छ । दुई वा दुईभन्दा बढी प्रदेशका बीच सहकार्य समन्वय साथै विपद् व्यवस्थापनका विषयमा पनि छलफल गरिने कार्कीले जानकारी दिए ।
सम्मेलनबाट संघीय सरकारसँग प्रदेशको अधिकार र वित्तीय स्रोतको बाँडफाँटसम्बन्धी विषयमा सामूहिक आवाज उठाउन साझा एजेन्डा तय गर्ने तयारी छ । कानुन निर्माणमा एकरूपता कायम गर्ने र प्रदेशहरूबीच असल अभ्यासको आदानप्रदान गर्ने विषयमा समेत छलफल हुनेछ ।
सङ्घीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउनुका साथै प्रदेशहरूबीच सहकार्य, समन्वय र साझेदारी विस्तार गर्ने उद्देश्यले सम्मेलन गरिएको हो ।




प्रतिक्रिया