‘ममाथि सार्वजनिक भएका सबै आरोप झुटा हुन्, छानबिन गर्न तयार छु’: खगेन्द्र सुनार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध सार्वजनिक भइरहेका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन्।

प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उल्लेख गर्दै सुनारले विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत आज उनले आफूले कुनै काल्पनिक महिलासँग कुराकानी गरेको भन्दै आफ्नो नाममा अडियो सार्वजनिक गरिएको दाबी गरेका छन्। उनले सार्वजनिक भएकाे अडियाे कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएकाे जिकिर गरेका छन्।

‘आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन्। एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्,’ उनले लेखेका छन्।

आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै सुनारले पार्टी र सरकारलाई सत्यतथ्य सार्वजनिक गर्न अपिल गरेका छन्।

उनले भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै कारण आफूले अत्याचार र घृणाको सामना गर्नुपरेको दाबीसमेत गरेका छन्।

‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले लेखेका छन्।