काठमाडौँ । काठमाडौँ उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा बसोबास गर्दै आएका सर्वसाधारण दशैँ मान्न गाउँ फर्कने क्रम तीव्र बनेको छ। चाडपर्व मनाउन घर फर्किने यात्रुहरूको चाप बढेसँगै उपत्यकाका मुख्य नाकाहरूमा चहलपहल ह्वात्तै बढेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टाभित्रमा विभिन्न नाका हुँदै कुल ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। बाहिरिने यात्रुको सङ्ख्या नागढुंगा र भक्तपुर, जडीबुटी-साँगा नाकामा सबैभन्दा बढी देखिएको छ।
यात्रुको चाप बढे पनि वर्षा र बाढीपहिरोका कारण राष्ट्रिय राजमार्गहरू क्षतिग्रस्त हुँदा यातायात व्यवसायीहरूलाई सवारीसाधन व्यवस्थापन गर्न निकै सास्ती भएको छ। धादिङको गलौँदीस्थित पृथ्वी राजमार्गको सडक भासिएका कारण यातायात आवागमन अवरुद्ध भएको छ, जसले गर्दा चाडपर्वको मुखमा लामो दूरीका सवारीसाधन सञ्चालन र समयमै गन्तव्यमा पुग्न कठिन भएको व्यवसायीहरू बताउँछन्।
यसैबीच, चाडपर्वको समयमा हुने अस्वस्थ प्रतिस्पर्धा र यात्रु ठगिने जोखिमलाई ध्यानमा राख्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सर्वसाधारणलाई सचेत गराएको छ।
महासंघले यात्रुहरूलाई अनिवार्य रूपमा आधिकारिक काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्न, सरकारले तोकेको आधिकारिक भाडादर मात्र तिर्न र सवारीसाधनको प्राविधिक अवस्था राम्ररी जाँच गरेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।




प्रतिक्रिया