काठमाडौँ । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले देशमा समृद्धि र सुशासन कायम हुन सके मात्रै चाडपर्वहरूको वास्तविक सार्थकता रहने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रा. डा. केसीले चाडपर्वका नाममा विकृति र विभेद बढ्न नहुनेमा जोड दिए।
‘देशमा समृद्धि र सुशासनको क्षेत्रमा काम हुन सके मात्रै चाडपर्वको सार्थकता हुन्छ,’ विजयादशमीको शुभकामना दिँदै केसीले भने, ‘नत्र हुनेखानेले मीठो-मसिनो खाने र राम्रो लगाउने, तर नहुनेहरूमाथि भने ऋणको भारी थपिने अवस्था सिर्जना हुन्छ।’
नेताहरूको ध्यान सत्ताकेन्द्रित राजनीतिमा मात्रै सीमित भएको आरोप लगाउँदै उनले देशमा कलकारखाना खोल्ने, गुणस्तरीय शिक्षा प्रदान गर्ने र अर्थतन्त्र सुधार गर्नेतर्फ सोच्न अति आवश्यक रहेको बताए।
‘खाली आफू कसरी सत्तामा पुग्ने भनेर मात्रै सोच्दा देश र जनताले लगातार दुःख पाइरहेका छन्,’ उनले थपे।
दशैँ पर्वलाई लिएर हुने गरेका विवादहरूबारे टिप्पणी गर्दै विश्लेषक केसीले यस्ता बहसको कुनै औचित्य नरहेको स्पष्ट पारे। ‘दशैँको विवाद गर्नुको कुनै अर्थ छैन। कसैलाई दशैँ–तिहार मनाउन मन छैन भने नमनाए हुन्छ। सबैले आ–आफ्नै पोशाक लगाऊन्, आ–आफ्नै चाडपर्व मनाऊन्, तर आपसमा झगडा किन गर्ने ?’ उनले प्रश्न गरे। उनले महान् चाडपर्वहरूले सबै नेपालीलाई सद्बुद्धि प्रदान गरोस् भन्ने कामना पनि गरे।
यस्तै, हालैका राजदूत नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले सरकारको कार्यशैलीको आलोचना गरे। राजदूत सिफारिसमा परेका व्यक्तिहरू विवादित र काण्डहरूमा जोडिएकाले नियुक्ति रोकिएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘राजदूत नियुक्तिमा एक जनाको होल्ड र दुई जना अनेक काण्डमा जोडिएकाले रोकिएको भन्ने सुनिएको छ। यस्ता विवादित व्यक्ति छनौट गरेर उनीहरूसँगै सरकार पनि नांगिएको छ।’
कार्यक्रममा उनले पुराना राजनीतिक दलहरूलाई स्थानीय तहको चुनावी तयारीमा लाग्न सुझाव दिए। सरकार ढाल्न आन्दोलन गर्ने धम्की दिनुभन्दा आगामी स्थानीय तहको निर्वाचनमार्फत जनताको मन जितेर अघि बढ्नु नै राजनीतिक रूपमा परिपक्व हुने उनको भनाइ थियो।




प्रतिक्रिया