काठमाडौँ । रौतहटको वृन्दाबन नगरपालिका–४ का रामविश्वास साह तेली ४५ दिनदेखि दुबईमा सम्पर्कविहीन भएका छन्। वैदेशिक रोजगारीका क्रममा ८ महिनाअघि युएई (दुबई) पुगेका रामविश्वास सम्पर्कविहीन भएपछि उनको परिवार चिन्तामा परेको छ।
हाल वैदेशिक रोजगारीकै सिलसिलामा मलेसियामा रहेका उनका बुबाले आफ्ना छोराको अवस्था यकिन गरी खोजी गरिदिन सरकार तथा स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलासँग गुहार मागेका छन्।
“मेरो छोरो दुबई गएको ८ महिना भयो। विगत ४५ दिनदेखि उसको कुनै अत्तोपत्तो छैन, कतैबाट केही खबर आएको छैन,” मलेसियाबाट पीडित बुबाले भने, “हामी बुबाआमा यता असाध्यै पीडामा छौँ। स्थानीय प्रशासन र सरकारले मेरो छोराको अवस्था सार्वजनिक गरी सहयोग गरिदिनुपर्यो।”
छोरालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको भन्ने हल्ला सुने पनि पक्राउ पर्नुको वास्तविक कारण र हालको अवस्थाबारे कुनै आधिकारिक जानकारी नपाएको उनले बताए।
यसैबीच, पीडितका बुबाको आग्रहपछि स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले छोराको खोजी र उद्धारमा सक्दो सहयोग गर्ने वचन दिएका छन्। धमलाले युएईस्थित सम्बन्धित निकाय र दूतावासमार्फत रामविश्वासलाई प्रहरीले पक्राउ गर्नुको कारण बुझ्न पहल गर्ने र उनलाई छुटाउन सम्भव भएसम्मको सहयोग गर्ने बताएका छन्।




प्रतिक्रिया