काठमाडौँ। नेपालीहरूको महान् पर्व बडादसैँको रौनकले मुलुकभर पारिवारिक खुसी र भेटघाटको वातावरण छाइरहँदा राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अर्कै दृश्य देखिन्छ। एकातिर आफन्त र मान्यजनबाट टीका तथा जमरा थाप्ने चटारो छ भने अर्कातिर आफ्नो र परिवारको उज्ज्वल भविष्यका लागि आँसु थाम्दै विदेसिने युवाहरूको उही परिचित ताँती छ।
चाडबाडमा पनि आफ्नो भविष्य निर्माण र आर्थिक अवस्था सुधार्ने बाध्यता बोकेर दैनिक सयौँको सङ्ख्यामा नेपाली युवायुवतीहरू वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेश प्रस्थान गरिरहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पनि विदेश जाने यात्रुहरूको बाक्लो उपस्थिति देखिन्थ्यो। विमानस्थलबाट प्रस्थान गर्नेहरूमा ठूलो हिस्सा वैदेशिक रोजगारीका लागि मरुभूमि तथा अन्य मुलुक धाउने युवाहरूको छ। यस्तै, उच्च शिक्षाका लागि युरोप, अमेरिका, अस्ट्रेलिया जाने विद्यार्थी तथा परिवार भेटघाटका लागि हिँडेका नागरिकहरू पनि विमानस्थलमा उत्तिकै भेटिन्छन्।
चाडपर्वमा परिवारसँगै बसेर खुसी साट्ने, इष्टमित्र भेट्ने र मान्यजनको आशीर्वाद लिने नेपाली परम्परा भए पनि स्वदेशमा आर्थिक अवसरको अभावले गर्दा युवा पुस्ताका लागि पर्वभन्दा बाध्यता ठूलो बनेको छ। विमानस्थलको यो दृश्यले नेपाली समाजको बदलिँदो र कहालीलाग्दो सामाजिक-आर्थिक धरातललाई छर्लङ्ग पार्छ।
स्वदेशमै अध्ययन, पेसा वा व्यवसाय गर्ने वातावरण नहुँदा युवा पुस्ता विदेशतर्फ आकर्षित भइरहेका छन्। यसको प्रत्यक्ष असर ग्रामीण अर्थतन्त्रमा परेको छ- गाउँघर रित्तिँदै गएका छन् भने उर्वर खेतबारीहरू बाँझो बन्दै गएका छन्। देशको मुख्य उत्पादनशील र सक्रिय जनशक्ति नै बाहिरिँदा मुलुकको कृषि, उद्योग, निर्माण, पर्यटन र अन्य उत्पादनमूलक क्षेत्रमा गम्भीर जनशक्ति अभाव खड्किने विश्लेषकहरू बताउँछन्।




प्रतिक्रिया