नियुक्तिमाथि प्रश्न उठेपछि आनी छोइङले भेटिन् प्रम बालेन, के भयो कुराकानी ?


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र आनी छोइङ डोल्माबीच भेटवार्ता भएको छ ।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा प्रसिद्ध गायिका आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर विभिन्न वृत्तमा टीकाटिप्पणी भइरहँदा उनले प्रधानमन्त्री शाहलाई भेटेकी हुन् ।

भेटमा प्रधानमन्त्री शाहले आनीलाई बाहिरी विवाद र टीकाटिप्पणीबाट विचलित नभई आफ्नो जिम्मेवारी सम्हाल्न र निर्धक्क भएर काम गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार आनीसँगको भेटमा प्रधानमन्त्री शाहले भने, ‘तपाईंको क्षमता र अन्तर्राष्ट्रिय छवि लुम्बिनीको विकासका लागि महत्त्वपूर्ण छ। अरूका टिप्पणीको पछि नलागी आफ्नो जिम्मेवारी निर्वाह गर्नुस्, सरकारको पूर्ण साथ रहनेछ।’

प्रधानमन्त्रीको उक्त आश्वासन र दृढ अडानपछि आनी छोइङलाई कार्यभार सम्हाल्न ठूलो राहत र हौसला मिलेको स्रोतले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा गत असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले आनी छोइङलाई पाँच वर्षका लागि कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। लुम्बिनी विकास कोष ऐन, २०४२ बमोजिम भएको यो नियुक्तिपछि समर्थन र आलोचनाका मिश्रित प्रतिक्रियाहरू बाहिरिएका छन्।

कोषको उपाध्यक्ष पदमा आनीको आगमनसँगै लुम्बिनीको प्रशासनिक तथा विकास निर्माणका कामले नयाँ गति लिने अपेक्षा गरिएको छ।