काभ्रेपलाञ्चोक, १२ कात्तिक । काभ्रेपलाञ्चोकका दुई स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा निजी जग्गाको सीमाङ्कन गर्न थालेका छन् । जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा राष्ट्रिय वन क्षेत्रको अतिक्रमणलाई स्थायीरूपमा नियन्त्रण र व्यवस्थापन गर्न रेखाङ्कनको काम अघि बढाएका हुन् ।
नमोबुद्ध नगरको गत असोज अन्तिम साताको बैठकले नगरको वडा नं ३ र ४ का सामुदायिक वन क्षेत्रमा देखिएको अतिक्रमणको समस्यालाई तत्काल समाधान गर्ने निर्णय गरेको थियो ।
सो बैठकले वडा नं ३ स्थित चरुवा र भैँसिनकोट सामुदायिक वन तथा वडा नं ४ को साउने पाखा पात्ले रुन्टो पर्दली पाखा सामुदायिक वनको जग्गा अतिक्रमण नियन्त्रणका लागि रेखाङ्कनको काम सुरु गर्ने निर्णय गरेको थियो । सो कार्यका लागि नगर उपप्रमुख रत्न लामाको संयोजकत्वमा छ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।
समितिमा सम्बन्धित वडाका वडाअध्यक्ष, नगरको नापी शाखा प्रमुख, सब–डिभिजन वन कार्यालयका वन अधिकृत, र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वा सचिव रहने व्यवस्था गरिएको छ ।
“विभिन्न व्यक्ति, उद्योग, समूह वा संस्थाले व्यक्तिगत स्वार्थका लागि सार्वजनिक र वन क्षेत्र अतिक्रमण गरेको भन्दै उजुरी परेपछि यो कदम चालेको हौँ,” नगरप्रमुख कुन्साङ लामाले भने । उनका अनुसार यही सातादेखि जग्गा नापजाँच, रेखाङ्कन र स्थायी पिलर गाडेर सीमा छुट्याउने काम सुरु गरिएको छ ।
समितिलाई चार महिनाको समयसीमा दिइएको र सो अवधिभित्र काम सम्पन्न गरी कार्यान्वयनका लागि प्रतिवेदन नमोबुद्ध नगरपालिका र डिभिजन वन कार्यालयमा बुझाउन समितिलाई निर्देशन दिइएको प्रमुख लामाले बताए । उनका अनुसार जग्गा रेखाङ्कनलगायतका कामका लागि नगरले नै खर्च ब्यहोर्ने छ ।
जग्गा नापजाँचका क्रममा सुकुम्वासी वा अव्यवस्थित बसोबासीबाहेक अन्य व्यक्ति वा संस्थाले जानाजानी सार्वजनिक तथा सरकारी वन अतिक्रमण गरेको पाइएमा सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गराइने छ । तोकिएको समयभित्र जग्गा खाली नगरेमा डिभिजन वन कार्यालय र नगरपालिकाले कानुनी प्रक्रिया पूरा गरी बल प्रयोग गरेरै भए पनि जग्गा फिर्ता ल्याउने र अतिक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ ।
यसअघि काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोट र आसपासका भू–भागमा अनियन्त्रित भौतिक संरचना निर्माण र अतिक्रमण रोक्ने उद्देश्यले सरकारी, सार्वजनिक तथा निजी जग्गाको यथार्थ सीमाङ्कन थालिएको थियो ।
काभे्रपलाञ्चोकको मण्डनदेउपुर नगर र जिल्लास्थित नापी कार्यालयको संयक्त पहलमा सञ्चालित पहिलो चरणको फिल्ड रेखाङ्कनकार्यमार्फत ४८ भन्दाबढी जग्गाधनी तथा सरकारी÷सार्वजनिक जग्गाको सीमा यकिन गरिएको थियो । मण्डनदेउपुरको वडा नं १, २ र ३ को माथिल्लो क्षेत्र नगरकोट, नाल्दुम तथा ठूलीचौर इलाकामा तीव्ररूपमा भौतिक संरचना विस्तार भइरहेका बेला नापी कार्यालयको प्राविधिक सहयोगमा प्राविधिक टोली परिचालन गरी जग्गाको रेखाङ्कन गरिएको छ ।
नापी कार्यालयका अधिकृत जयराम तामाङ नेतृत्वको प्राविधिक टोलीले एक महिनाको अवधिमा नगरकोट क्षेत्रको जग्गाको रेखाङ्कनको काम सम्पन्न गरेको हो । प्राविधिक टोलीले तयार पारेको रेखाङ्कनको पहिलो चरणको प्रतिवेदन गत असोज तेस्रो साता नगरपालिकालाई हस्तान्तरण पनि गरेको छ ।
अधिकृत तामाङका अनुसार नगरकोट क्षेत्रको जग्गा रेखाङ्कन गर्न आधुनिक ‘डिजिपिएस’ प्रविधिमार्फत ५२ भन्दा बढी सहायक नियन्त्रण बिन्दु स्थापना गरी प्राविधिक विवरणअनुसार हालको भोगचलन, घर, बाटो र कम्पाउण्डको डिजिटल नापजाँच गरी त्यसलाई विसं २०३२ सालको साबिक कित्ता नापी नक्साका आधारमा सीमा एकिन गरिएको हो । समयक्रमसँगै पुराना प्राकृतिक सिमाना (खोल्सा, कान्ला, ढुङ्गे पर्खाल) मेटिँदै जानु र घना वनजङ्गलका कारण डिजिपिएसको सिग्नल पाउन समस्या भए पनि जनप्रतिनिधि र स्थानीयको सक्रिय सहभागिताले पहिलो चरणको कार्य सफल भएको छ ।




प्रतिक्रिया