काठमाडौं, १३ कात्तिक । रिपोर्टर्स क्लब नेपालले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
शुक्रबार कार्यालय समय समाप्त भएपछि सादा पोशाकमा प्रहरी विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको क्लबले जनाएको छ।
क्लबका अध्यक्ष ऋषि धमलाले प्रेस विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गराउनु र पत्रकारलाई नियन्त्रणमा लिनु अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको उल्लेख गरेका छन्।
‘लोकतन्त्र, विधिको शासन र कानुनी राज्यमा समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गराउनु तथा पत्रकारलाई नियन्त्रणमा लिनु अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ।
यस घटनामा नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, नयाँ पत्रिकाका पत्रकार नवराज मैनाली, दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मा तथा डीएनए खबरका सम्पादक धिरज बस्नेतलगायत सञ्चारकर्मीलाई नियन्त्रणमा लिइएको विषयमा क्लबले चासो व्यक्त गरेको छ।
समाचारप्रति असहमति वा आपत्ति भए कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई नै निशाना बनाउनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको धमलाको भनाइ छ।
‘प्रश्न गर्ने पत्रकारलाई पक्राउ गरेर, सञ्चारगृहमा प्रहरी पठाएर वा नागरिक संस्थाहरूलाई निलम्बन गरेर आवाज दबाउने प्रयासले लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ।
रिपोर्टर्स क्लब नेपालले पत्रकार तथा सञ्चारकर्मीलाई धरपकड गर्ने, त्रसित बनाउने र दुःख दिने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ।
प्रेस स्वतन्त्रता पत्रकार र सञ्चारमाध्यमको मात्र नभई आम नागरिकको सूचना पाउने अधिकारसँग समेत जोडिएको उल्लेख गर्दै धमलाले यसको संरक्षणका लागि नेपाली सञ्चार जगत् एकजुट हुनुपर्ने बताएका छन्।
‘जस्तोसुकै परिस्थितिमा पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाली सञ्चार जगत् एकजुट रहनुपर्छ। यी आधारभूत अधिकारको संरक्षणका लागि कसैसँग पनि सम्झौता गर्न सकिँदैन,’ धमलाले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन्।
अहिले भने प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि पक्राउ गरिएका सबै पत्रकार रिहा भैसकेका छन् ।




प्रतिक्रिया