समाचार कक्षबाट पक्राउ गरिएका सबै पत्रकार रिहा


काठमाडौं । सञ्चारमाध्यमका कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन्।

मन्त्री तिमल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।

शुक्रबार प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल र डीएनए अनलाइनका पत्रकार धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो।

पत्रकार पक्राउ परेपछि विभिन्न सञ्चारमाध्यम, पत्रकार संगठन तथा सरोकारवाला पक्षबाट विरोध भएको थियो।

घटनाप्रति प्रेस स्वतन्त्रताको विषयलाई लिएर व्यापक चासो र आलोचना व्यक्त भएपछि प्रधानमन्त्री बालेन शाहले पक्राउ परेका सबै पत्रकारलाई रिहा गर्न निर्देशन दिएका थिए।