काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक नीति, नियम र वातावरण पुनरावलोकन गर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले सनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली गेम डेभलपर तथा आईटी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिएको जानकारी दिँदै उनीहरूले भोगिरहेका समस्या समाधानका लागि गृहकार्य अघि बढाइएको बताएका हुन्।
प्रधानमन्त्री बालेनका अनुसार विश्वभर लोकप्रिय लुडो र कलब्रेकजस्ता गेम नेपालीले नै निर्माण गरेका हुन्। लुडो गेमले करिब २० करोड र कलब्रेकले १५ करोडभन्दा बढी डाउनलोड प्राप्त गरेको उल्लेख गर्दै उनले नेपालमा गेम डेभलपमेन्ट क्षेत्रमा सयौँ युवा सक्रिय रहेको जानकारी दिएका छन्।
‘हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरूबारे पनि कुरा गर्यौँ,’ प्रधानमन्त्री शाहले लेखेका छन्, ‘अब उहाँहरूको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ।’
नेपालबाटै विश्वस्तरको ‘युनिकर्न’ कम्पनी निर्माण गर्न सहज हुने गरी आवश्यक नियम र वातावरण पुनरावलोकन गरिने पनि उनले बताएका छन्।
आईटी उत्पादन तथा निर्यातको सम्भावना बढ्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रमा कार्यरत प्रतिभा र कम्पनीले सहज रूपमा आम्दानी गर्न तथा पुनः लगानी गर्न सक्ने वातावरण निर्माणमा सरकार केन्द्रित हुने बताएका छन्।
‘ट्याक्स सहजता र पोलिसी इम्प्रुभमेन्ट, इन्टरनेसनल इनकममा रहेका कन्जरभेटिभ नियमहरू अझै सहज बनाउने छौँ,’ उनले फेसबुकमा लेखेका छन्।
त्यस्तै, गेमिङ तथा आईटी उद्योगको विकासका लागि गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन तथा आईटी क्षेत्र र नेपाल राष्ट्र बैंक एवं अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रिया गर्ने कार्यक्रमलाई प्राथमिकता दिइने उनले बताएका छन्।
समग्र आईटी उत्पादन तथा गेमिङ उद्योगलाई लाभ पुग्ने इकोसिस्टम निर्माणका लागि आवश्यक कार्यक्रमहरूमा सरकारले लगानी गर्ने योजना रहेको प्रधानमन्त्री शाहको भनाइ छ।




प्रतिक्रिया