काठमाडौँ । युरोपका तीन प्रमुख अर्थतन्त्र फ्रान्स, इटाली र जर्मनीमा जीवनयापनको बढ्दो लागत, कमजोर सार्वजनिक सेवा र युवापुस्ताले भोगिरहेका आर्थिक कठिनाइविरुद्ध प्रदर्शन चर्किएका छन् । तीनै देशका आन्दोलनमा महँगी र सरकारप्रतिको असन्तुष्टि साझा मुद्दा बनेका छन् । तर प्रदर्शनको नेतृत्व, मागको दायरा, आन्दोलनको स्वरूप र हिंसाको स्तरमा भने उल्लेखनीय भिन्नता देखिएको छ ।
फ्रान्समा सेप्टेम्बरको अन्त्यदेखि सुरु भएको आन्दोलन तेस्रो सातामा प्रवेश गरेको छ । इटालीमा शुक्रबार देशव्यापी आमहडतालसँगै हजारौँ विद्यार्थी र श्रमिक सडकमा उत्रिए । जर्मनीमा भने फ्रान्स र युरोपका अन्य देशका आन्दोलनबाट प्रेरित युवाहरूले शनिबार ३४ सहरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । जर्मनीमा आयोजकका अनुसार एक लाख ६० हजारभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ
साझा असन्तुष्टि : महँगी र सार्वजनिक सेवामा दबाब
तीनै देशका आन्दोलनमा जीवनयापनको लागत प्रमुख मुद्दा बनेको छ । मूल्यवृद्धिले आम नागरिकको दैनिक जीवनमा दबाब बढाएको भन्दै प्रदर्शनकारीहरूले सरकारसँग राहत र सार्वजनिक सेवामा थप लगानीको माग गरेका छन् ।
फ्रान्समा महँगी, इन्धनको बढ्दो मूल्य र सार्वजनिक सेवाको अवस्थालाई लिएर असन्तुष्टि छ । विद्यालयका जीर्ण भवन, कक्षाकोठामा विद्यार्थीको भीड र विश्वविद्यालय भर्ना प्रणालीलाई अन्यायपूर्ण ठान्ने विद्यार्थीहरू श्रमिक संघ र पुनः सक्रिय भएको ‘येलो भेस्ट’ आन्दोलनसँग जोडिएका छन् ।
इटालीमा विद्यार्थी र श्रमिकले तलब वृद्धि, सार्वजनिक सेवाको सुदृढीकरण तथा जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न माग गरेका छन् । उनीहरूले सैन्य खर्च बढाउने सरकारी नीतिको पनि विरोध गरेका छन् ।
जर्मनीमा युवाहरूले शिक्षामा थप लगानी, जीवनयापनको खर्च घटाउने र अनिवार्य सैन्य सेवाको विरोधलाई मुख्य माग बनाएका छन् । आर्थिक वृद्धि पुनर्जीवित गर्न सङ्घर्ष गरिरहेको जर्मनीमा पेन्सन र सार्वजनिक सेवामाथि पनि दबाब बढिरहेको छ । अवकाश लिने पुस्ताको सङ्ख्या बढ्दै जाँदा काम गर्ने उमेरका मानिसको सङ्ख्या घटिरहेको छ ।
यसरी तीनै देशका आन्दोलनले फरक राजनीतिक र आर्थिक परिवेशमा भए पनि युवाको भविष्य, सार्वजनिक सेवाको गुणस्तर र आर्थिक सुरक्षासम्बन्धी साझा चिन्ता उजागर गरेका छन् ।
फ्रान्स: सडक आन्दोलनसँगै हिंसा र राजनीतिक तनाव
तीन देशमध्ये फ्रान्समा आन्दोलन सबैभन्दा हिंसात्मक बनेको छ । अक्टोबर २४ मा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप, लुटपाट तथा सार्वजनिक र व्यावसायिक संरचनामा क्षति पुगेको थियो । त्यसपछि सरकारले शनिबार (आज)को प्रदर्शनका लागि ७० हजार प्रहरी परिचालन गर्ने जनाएको छ ।
फ्रान्सका गृहमन्त्री लरेन नुनेजले सम्भावित हिंसालाई नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिएका छन् । हेलोविनका अवसरमा मास्क लगाएर प्रदर्शनकारीले आफ्नो पहिचान लुकाउन सक्ने आशङ्का पनि अधिकारीहरूले गरेका छन् ।

आन्दोलनले फ्रान्सको अर्थतन्त्रमा समेत असर पारेको छ । तेस्रो त्रैमासिकमा अर्थतन्त्र खुम्चिएको तथ्याङ्क सार्वजनिक भएको छ । वाणिज्य संघका अनुसार खुद्रा व्यवसायमा एक अर्ब युरोभन्दा बढीको क्षति भएको छ । बीमा नगरिएका क्षति र आम्दानी गुमेको रकमसमेत जोड्दा कुल नोक्सानी दोब्बर हुन सक्ने अनुमान छ ।
सरकारले दङ्गामा संलग्नलाई उनीहरूले गरेको वा उनीहरू संलग्न समूहले गरेको क्षतिबापत १० हजार युरोसम्म तिराउने कानुन अघि बढाएको छ । तर मानवअधिकार समूह र केही कानुन व्यवसायीले यसले शान्तिपूर्ण प्रदर्शनको अधिकार कमजोर पार्न सक्ने चेतावनी दिएका छन् ।
फ्रान्सको प्रशासनिक अदालतले शनिबार पेरिसको रिपब्लिक र बास्टिल चोकबिचको प्रदर्शन प्रतिबन्धित गर्ने निर्णयलाई सदर गरेको छ । त्यसपछि प्रदर्शनकारीलाई सहरको पूर्वी किनारका सडकमा प्रदर्शन गर्न निर्देशन दिइएको छ । देशभर करिब १५० स्थानमा प्रदर्शनको तयारी गरिएको छ ।
म्याक्रों सरकारको सन् २०२७ को बजेटसम्बन्धी छलफल सुरु भएपछि सेप्टेम्बरको अन्त्यदेखि प्रदर्शन चर्किएको हो । विद्यालयमा स्रोतसाधनको अभाव, विश्वविद्यालय भर्ना प्रणालीमा विभेद, इन्धनको मूल्यवृद्धि र जीवनयापनको बढ्दो लागतविरुद्ध विद्यार्थी, ट्रेड युनियन र ‘यल्लो भेस्ट’ आन्दोलनका समर्थकहरू सडकमा उत्रिएका छन् ।
इटाली: आमहडताल, श्रमिक र विद्यार्थीको संयुक्त प्रदर्शन
इटालीमा शुक्रबार भएको आन्दोलन देशव्यापी आमहडतालसँग जोडिएको थियो । आधारभूत तहको श्रमिक सङ्गठन युनिओने सिन्डाकालेले २४ घण्टे हडताल आह्वान गरेको थियो । ४० भन्दा बढी सहरमा प्रदर्शन आयोजना गरिएको थियो ।
प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रहे पनि केही ठाउँमा तनाव देखियो । टुरिनमा प्रहरी पानीको फोहोरा प्रयोग गर्दै विद्यार्थी र वामपन्थी कार्यकर्तालाई सरकारी कार्यालयको सुरक्षा घेराबाट पछाडि हटाउन बाध्य भयो ।

रोममा प्रदर्शनकारी कोलोसियम नजिकै भेला भए र सप्ताहन्तभरि त्यहाँ पाल टाँगेर बस्ने योजना सुनाए । साँझ संसदतर्फ अघि बढ्न खोजेको समूहलाई प्रहरीले पानीको फोहोरा प्रयोग गरेर तितरबितर पारेको थियो । प्रहरी अवरोध तोड्ने प्रयासपछि आठ जना पक्राउ परेको समाचारमा उल्लेख छ ।
मिलानमा प्रदर्शनकारीले सहरको रिङरोडमा मार्च गरे र पोलिटेक्निको दी मिलानो विश्वविद्यालयअगाडि प्रदर्शन गरे । जेनोआ बन्दरगाहमा करिब १५ हजार बन्दरगाह श्रमिक, विद्यार्थी र अन्य प्रदर्शनकारी भेला भए । उनीहरूले युद्धमा प्रयोग हुने हतियार ढुवानीका लागि बन्दरगाह प्रयोग गरिएको विरोध गर्दै खाडी क्षेत्रदेखि ब्ल्याक सीसम्मका द्वन्द्वमा मारिएका नाविकको विषय उठाएका थिए ।
जर्मनीः युवाको नेतृत्व, शान्तिपूर्ण प्रदर्शनको अपेक्षा
जर्मनीमा ‘जेन्जेड रेगेल्ट’ अर्थात् ‘जेन जीले जिम्मेवारी लिन्छ’ नामक अभियानले शनिबार ३४ सहरमा प्रदर्शन आयोजना गरेको छ । बर्लिन, फ्र्यांकफर्ट र म्युनिखलगायत सहरमा एक लाख ६० हजारभन्दा बढी मानिस सहभागी हुने आयोजकको अपेक्षा छ ।
जर्मनीका अधिकारीहरूले प्रदर्शन अधिकांशतः शान्तिपूर्ण हुने अपेक्षा गरे पनि अतिवादी समूहले आन्दोलनलाई आफ्नो उद्देश्यका लागि प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । बर्लिनको कुफ्र्युस्र्टेन्डामस्थित केही व्यवसायले सम्भावित हिंसाको आशङ्कामा पसलका झ्यालमा काठका पाता राखेका छन् ।

यद्यपि आन्दोलनको नेतृत्व र प्रतिनिधित्वबारे प्रश्न उठेका छन् । जर्मनीको राष्ट्रिय विद्यार्थी सङ्गठनले ‘जेन्जेड रेगेल्ट’ अभियानबाट आफूलाई अलग राखेको छ । सङ्गठनले विद्यार्थीका मागलाई जायज ठाने पनि अभियानमा संलग्न राजनीतिक तथा नागरिक समूहहरूको मिश्रित उपस्थितिबारे चिन्ता जनाएको छ । एजेन्सी




प्रतिक्रिया