१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। यसका लागि पार्टीले सातवटा छुट्टाछुट्टै उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
प्रवक्ता जगदिश खरेलले जारी गरेको विज्ञप्तिअनुसार उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न सात उपसमिति गठन गरिएको छ।
गठित उपसमितिहरूमध्ये क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक र गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बू चयन भएका छन्।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्न इच्छुक र योग्य व्यक्तिहरूलाई क्यान्डिडेट क्लबमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेको छ।





प्रतिक्रिया