सरकारका खराब कामको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र राम्रा कामको श्रेय रास्वपाले लिने ? : गगन थापा


१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका राम्रा तथा नराम्रा दुवै कामको जिम्मेवारी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएका छन्।

आइतबार सरकारका गतिविधि र समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गर्दै थापाले सरकारको कामको जस लिने तर कमजोरीको अपजसबाट पन्छिन नमिल्ने बताएका हुन्।

उनले विगतमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेका गलत कामप्रति रास्वपाले उठाउने गरेको प्रश्न स्मरण गराउँदै अहिले त्यही सिद्धान्त रास्वपामाथि पनि लागू हुने बताए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेताहरूले गलत भयो भन्ने बोल्ने काम भएको छ,’ उनले भने, ‘सरकारले कुनै कुरा गलत गर्दा हामी बोल्थ्यौं। त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हुन्थ्यो भने यो सरकार त नेपाली कांग्रेसको सरकार हो, नेपाली कांग्रेसको सरकार भएको हुनाले त्यो सरकारले गरेको काम भएकाले विरोध तिम्ले गरेर पुग्दैन, जिम्मा तिम्ले लिनुपर्छ। किनकि तिमी पनि त्यो पार्टीको हो। यो सिद्धान्त तपाईँहरूलाई लागू हुन्छ कि हुँदैन ? यो प्रश्न हाम्रो हो।’

थापाले कांग्रेस–एमालेका हकमा लागू हुने राजनीतिक जिम्मेवारीको सिद्धान्त रास्वपाका हकमा पनि समान रूपमा लागू हुनुपर्ने जिकिर गरे।

‘यो सिद्धान्त कांग्रेस–एमालेको हकमा लागू हुने, अनि रास्वपाको नहुने ?’ भन्दै उनले प्रश्न गरे।

सरकारले गरेका राम्रा कामको श्रेय पार्टीले लिने तर कमजोरीको जिम्मेवारी प्रधानमन्त्रीमाथि मात्रै थोपर्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो।

‘सरकारले राम्रो काम गरेको छ भने रास्वपा, सरकारको कुनै काममा प्रश्न उठे त्यो चाहिँ प्रधानमन्त्री ? सरकारका खराब कामको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र सरकारका राम्रा कामको श्रेय सिंगो रास्वपाले लिने ? यसको जिम्मेवारी रास्वपाले लिने प्रश्न आउँछ कि आउँदैन ?’ थापाले प्रश्न गरे।