मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प


वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टीले मध्यावधि निर्वाचनमा व्यहोरेको हारलाई आफ्नो राष्ट्रपतीय कार्यकालप्रतिको असन्तुष्टिका रूपमा नलिएको बताएका छन् । सीएनएनका अनुसार निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गर्ने देखिएको छ ।

फक्स न्युजसँग प्रत्यक्ष टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले भने, ‘तर म यसलाई आफूमाथिको प्रहारका रूपमा हेर्दिनँ । अर्थतन्त्र र हामीले गरेका सबै कामका हिसाबले राष्ट्रपतीय इतिहासकै उत्कृष्ट दुई वर्ष हामीले बिताएका छौँ ।’

अमेरिकी जनताका लागि आफ्नो अन्तिम सन्देश के छ भन्ने प्रश्नमा उनले विपक्षी दललाई बधाई दिए ।  ‘म यति मात्र भन्छु, डेमोक्रेटहरूलाई बधाई छ । उनीहरूले राम्रो काम गरे । उनीहरू ११ वर्षदेखि यो अवसरको प्रतीक्षामा थिए र अन्ततः प्राप्त गरेका छन्,’ ट्रम्पले भने ।

यसअघि ट्रम्पले आफूले समर्थन गरेका रिपब्लिकन उम्मेदवारहरूलाई पार्टीको हारको दोष दिएका थिए । उनका अनुसार केही उम्मेदवारले आफूसँगै प्रतिस्पर्धा गरेजस्तो व्यवहार गरे र आफ्ना समर्थकलाई मतदानका लागि उत्साहित बनाउन सकेनन् ।