ढाका । न्यूनतम ज्याला वृद्धि गर्न माग गर्दै बंगलादेशका गार्मेन्ट श्रमिकले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । सरकारले आगामी डिसेम्बरदेखि नयाँ पारिश्रमिक संरचना लागु गर्ने निर्णय गरे पनि ज्याला वृद्धिको वास्तविक रकम सार्वजनिक नभएपछि श्रमिकको आन्दोलन रोकिएको छैन ।
प्रदर्शनका कारण राजधानी ढाकानजिकैको प्रमुख औद्योगिक क्षेत्र अशुलियामा मात्रै सयभन्दा बढी गार्मेन्ट कारखाना बन्द भएका छन् । श्रमिकले राजमार्ग अवरुद्ध गर्नुका साथै प्रहरीसँग झडप गरेका थिए । प्रहरीले अश्रुग्यास र ध्वनि ग्रिनेड प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको जनाएको छ
प्रहरीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि इँटा प्रहार गर्नुका साथै सवारीसाधनमा तोडफोड गरेका थिए । औद्योगिक क्षेत्रमा थप प्रहरी र सीमा सुरक्षा बल परिचालन गरिएको छ ।
श्रमिकले हाल कायम मासिक न्यूनतम ज्याला १२ हजार ५०० टाका (करिब १०० अमेरिकी डलर) बाट बढाएर ३० हजार टाका (करिब २४२ डलर) पुर्याउन माग गरेका छन् । खाद्यान्न, आवास र यातायातको मूल्य बढे पनि ज्याला नबढेकाले दैनिक जीवनयापन कठिन भएको उनीहरूको भनाइ छ ।
बुधबार ज्याला निर्धारण बोर्डले डिसेम्बरदेखि नयाँ पारिश्रमिक संरचना लागु गर्ने सहमति गरेको थियो । नयाँ दरअनुसार श्रमिकले जनवरीदेखि बढेको तलब पाउनेछन्, तर ज्याला कति बढाउने भन्ने निर्णय भने भइसकेको छैन ।
अन्य औद्योगिक क्षेत्र साभार र गाजिपुरमा भने केही श्रमिक काममा फर्किएका छन् । बंगलादेश चीनपछि विश्वकै दोस्रो ठुलो तयारी पोसाक निर्यातकर्ता हो । यस क्षेत्रमा करिब ४० लाख श्रमिक कार्यरत छन् र देशको कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा गार्मेन्ट उद्योगले ओगटेको छ ।
एच एन्ड एम, जारा र वालमार्टजस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई पोसाक आपूर्ति गर्ने उद्योगमा जारी आन्दोलनले उत्पादन तथा निर्यात प्रभावित हुन सक्ने चिन्ता बढेको छ ।




प्रतिक्रिया