२० कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदैछ। यस दिन नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याएर पूजा गर्ने परम्परा छ।
धनतेरसका अवसरमा नयाँ धातुका सामग्री तथा गरगहना किन्दा घरमा सुख, समृद्धि र धनधान्य भित्रिने धार्मिक विश्वास रहिआएको छ। यसै अवसरमा बजारमा सुनचाँदी तथा भाँडाकुँडा किन्नेहरूको चहलपहल बढ्ने गरेको छ।
यस वर्ष तिथिको घटबढका कारण तिहार छ दिनसम्म मनाइने भएको छ। कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व तिथिको अन्तरका कारण यसपटक छ दिनमा फैलिएको हो।
पञ्चाङ्गअनुसार आज बिहान द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको हो। पण्डित नारायणप्रसाद दुलालका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
यस वर्ष कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा मनाइनेछ। त्यसैगरी कात्तिक २५ गते भाइटीका परेको छ।
धनतेरसका दिन विशेषगरी सुन, चाँदी, तामा, पित्तललगायत धातुका सामग्री खरिद गर्ने चलन छ। यसका साथै झाडु, धनियाँलगायत सामग्री किन्ने परम्परा पनि रहेको छ। मिथिला क्षेत्रमा भने कात्तिक कृष्णपक्षको त्रयोदशीका दिन साँझ दीपमालिका गर्ने चलन छ।
धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ। बबरमहलस्थित राष्ट्र बैंकको कार्यालयबाट बिहीबारदेखि सुरु भएको सिक्का बिक्री आज पनि जारी रहनेछ।
धनतेरससँगै सुरु भएको तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्नुका साथै लक्ष्मीपूजा, म्हःपूजा र भाइटीका मनाउने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ।




प्रतिक्रिया