रास्वपाका सहप्रवक्ता भन्छन्- ‘अदालत जस्तो अदालत नभएकै कारण जेनजी विद्रोहमा जल्यो’


काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता तथा सांसद सुरेन्द्र चौधरीले जेनजी आन्दोलनका क्रममा अदालतमा भएको आगजनीलाई न्यायालयभित्र मौलाउँदै गएको विकृतिसँग जोडेर टिप्पणी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद चौधरीले न्यायालयको कार्यशैली र त्यसप्रति जनताको विश्वासमाथि प्रश्न उठाएका हुन् ।

अदालत सबै नागरिकका लागि न्याय माग्ने अन्तिम आश्रयस्थल भएको उल्लेख गर्दै उनले अदालत जल्नु कसैले पनि नचाहेको बताए । तर, त्यस्तो आस्थाको केन्द्रमाथि आक्रमण हुनुको कारण खोज्नुपर्ने उनको भनाइ थियो ।

‘अदालत जलेको हामी कोही पनि चाहँदैनौँ । तपाईं हामी जोसुकै होस्, चाहे सांसद, कर्मचारी या नागरिक । हाम्रो लागि पूजनीय आदरणीय आमाबुबाबाट पनि जब अन्जानमा कहिलेकाहीँ सन्तानहरूलाई अन्याय हुन गयो भने न्याय माग्न जाने ठाउँ भनेको अदालत हो । न्यायपालिका हो । त्यो स्तरको आधारविन्दु हो अदालत,’ उनले भने ।

उनले अदालतजस्तो आस्थाको केन्द्रमा आगजनी हुनुको कारणबारे प्रश्न गर्दै न्यायालयभित्रका गतिविधिले नागरिकको विश्वास गुम्दै गएको दाबी गरे ।

‘त्यत्रो आस्थाविन्दुको केन्द्र जलाउन जाने पागल हुन् ? भगवानले सुई लगाइदिएको थियो तिमीहरू जाऊ आगो लगाऊ भनेर ? होइन नि । त्यो लाग्नुको कारण आज अदालतले जवाफ दिनुपर्छ । आज अदालतभित्र भएका गतिविधिहरूको जुन प्रमाण पेस भइरहेका छन्, हो त्यही कारण हो । नागरिकहरूको भरोसा टुट्यो । अदालत जस्तो अदालत भएन,’ चौधरीले भने ।

उनले न्यायालयमा देखिएका विकृतिको जिम्मेवार पुराना राजनीतिक दलहरू रहेको आरोपसमेत लगाए ।

यसैबीच, सांसद चौधरीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) फेरबदलको विषयलाई लिएर रास्वपाभित्र कुनै विवाद नरहेको दाबी गरेका छन् । सरकारको निर्णयलाई लिएर पार्टीभित्र मतभेद रहेको भन्ने बाहिर आएका प्रचारमा सत्यता नरहेको भन्दै उनले पार्टी एकढिक्का रहेको स्पष्ट पारे ।

सरकार प्रमुखलाई आफू मातहतका निकायका प्रमुखहरूलाई आवश्यकताअनुसार फेरबदल गर्ने अधिकार रहेको उल्लेख गर्दै उनले यस्तो विषयलाई अनावश्यक रूपमा विवादित बनाउन नहुने बताए ।

‘सरकार प्रमुखले आफू मातहतका कुनै पनि निकायका प्रमुखले आफूलाई विश्वास दिलाएन भने सरुवा गर्न सक्छ,’ चौधरीले भने ।