प्रचण्ड भन्छन्- ‘दानबहादुर कार्कीलाई अदालतले न्याय  दिन्छ भन्ने विश्वास छ’

File Photo

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले कार्कीलाई पदबाट हटाएर अन्याय गरेको टिप्पणी गरे।

आन्दोलनको तयारीबारे उनले राष्ट्रिय जागरण अभियान सम्पन्न भएपछि समीक्षा गरेर आगामी रणनीति तय गरिने बताए। साथै, एमाले मात्र नभई कांग्रेसलगायत संविधान र शान्तिको पक्षमा रहेका सबै शक्तिलाई एक ठाउँमा ल्याएर अघि बढ्ने उनको भनाइ थियो।

वर्तमान सरकारको कामकारबाहीप्रति टिप्पणी गर्दै प्रचण्डले सरकार ‘झिलिमिलीमा रमाएको’ आरोप लगाए। प्रेस काउन्सिलसम्बन्धी अध्यादेश सुधार गरेर मात्रै अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए।