हाइकोउ, २२ कात्तिक । दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
हाइनान नर्मल युनिभर्सिटी र अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्जमा उक्त प्रजाति फेला पारेका हुन् । नयाँ प्रजातिलाई ‘हाइनान ग्रुभ–टोड फ्रग’ नाम दिइएको छ । यससम्बन्धी अनुसन्धान प्रतिवेदन जनावरहरूको वर्गीकरणसम्बन्धी अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’मा प्रकाशित भएको छ ।
अनुसन्धान टोलीले सन् २०२४ देखि २०२६ सम्म निकुञ्जमा गरेको स्थलगत सर्वेक्षणका क्रममा नयाँ प्रजाति पहिचान गरेको हो । यसको शारीरिक बनावट, आणविक तथा आनुवंशिक विश्लेषण र अन्य ज्ञात प्रजातिसँगको तुलनाका आधारमा नयाँ प्रजाति भएको पुष्टि गरिएको हो ।
अनुसन्धानअनुसार यो भ्यागुता समुद्री सतहबाट ३५० देखि ९५० मिटर उचाइमा रहेका उष्णकटिबन्धीय वर्षावनमा पाइन्छ । सदाबहार चौडा पात भएका रूखहरू यसको प्रमुख बासस्थान हुन् ।
हाइनान नर्मल युनिभर्सिटीको स्कुल अफ लाइफ साइन्सेसका डिन वाङ जिचाओले यो खोज राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भइरहेको जैविक विविधता सर्वेक्षणको महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार यसले हाइनान टापुमा उभयचर जीवको विविधता थप विस्तार गरेको छ ।
सन् २०२१ मा स्थापना भएको हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्ज चीनको महत्वपूर्ण जैविक विविधता संरक्षण क्षेत्र हो । निकुञ्ज प्रशासनका अनुसार पछिल्ला पाँच वर्षमा यहाँ वनस्पति र वन्यजन्तुका ९० भन्दा बढी नयाँ प्रजाति फेला परेका छन् ।
निकुञ्जले हाइनानको ९५ प्रतिशतभन्दा बढी प्राथमिक वन र ५५ प्रतिशतभन्दा बढी प्राकृतिक वनको प्रभावकारी संरक्षण गरेको जनाएको छ । रासस




प्रतिक्रिया