काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने बताएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले प्रधानमन्त्री बालेनको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ सुरुवात हुने र लामो समयदेखि देखिएको संवादहीनता अन्त्य गर्न सहयोग पुग्ने बताए।
‘प्रधानमन्त्री भएको सात महिनापछि बालेन जी भारत जाँदै हुनुहुन्छ। यस भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्छ। आइसब्रेक हुन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन शाहबीच हुने वार्ताले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ,’ उनले भने।
धमलाले आफूले पनि यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग दुईपटक भेट गरेको स्मरण गरे।
प्रधानमन्त्री बालेनप्रति आफ्नो समर्थन रहेको उल्लेख गर्दै उनले सरकारलाई विकास निर्माणका कामलाई तीव्रता दिन, सुशासन कायम गर्न तथा भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न सुझाव दिए।
यसैगरी, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच कुनै मतभेद नरहेको दाबी गरे। दुवै नेताबीच सम्बन्ध सुमधुर रहेको र नियमित भेटघाटसमेत हुने गरेको उनको भनाइ थियो।




प्रतिक्रिया