काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं आईभीएफ (टेस्ट ट्युब बेबी) विशेषज्ञ डा. नूतन शर्माको नयाँ स्वास्थ्य संस्था ‘नव्या स्पेसियालिटी सेन्टर प्रा.लि.’ले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नव्या स्पेसियालिटी सेन्टरको उद्घाटन समारोहमा बोल्दै धमलाले डा. शर्मालाई अनुभवी तथा दक्ष चिकित्सकको संज्ञा दिँदै उनको सेवाले स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने बताए।
‘यसले नेपालको स्वास्थ्य क्षेत्रमा चमत्कार गर्छ। डा. नूतन शर्मा एकदम अनुभवी हुनुहुन्छ र यो सेक्टरका लागि भगवान् नै हो,’ धमलाले भने।
उनले आफूले चिकित्सकलाई भगवानका रूपमा लिने गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा धेरै असल चिकित्सक भए पनि स्त्रीरोग तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा डा. शर्मा अत्यन्तै विज्ञ र अनुभवी रहेको दाबी गरे।
धमलाले स्वास्थ्य क्षेत्रको रूपान्तरणसँगै परिवारमा आवश्यक खुसी प्रदान गर्न प्रजनन स्वास्थ्य सेवाको महत्वपूर्ण भूमिका रहने बताए। सुखी परिवारको सपना पूरा गर्न सन्तानको चाहना राख्ने दम्पतीका लागि आईभीएफ सेवा वरदान बन्न सक्ने उनको भनाइ थियो।
‘मान्छेको एउटा सपना हुन्छ, सुखी परिवार। सुखी परिवारमा के–के हुन्छ? छोराछोरी चाहिन्छ, बालबच्चा चाहिन्छ। त्यसको लागि उहाँ वरदान हो,’ धमलाले भने।
उनले नव्या स्पेसियालिटी सेन्टरको स्थापनाले प्रजनन स्वास्थ्य सेवामा थप सहजता र गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नयाँ व्यवसायको सफलताको शुभकामना समेत दिए।
डा. शर्माले आफ्नो विशेषज्ञतामार्फत स्वास्थ्य क्षेत्रमा थप योगदान पुर्याउने उदेश्यका साथ ललितपूरकाे जावलाखेलमा आज नव्या स्पेसियालिटी सेन्टर प्रा.लि.को सञ्चालनमा ल्याएकी छन् ।




प्रतिक्रिया