सरकारलाई पार्टीले स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ : सांसद गजुरेल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विगतका सरकारले गरेका राम्रा कामलाई सम्मान गर्दै वर्तमान बालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई निरन्तरता दिइरहेको बताएका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका सरकारले पनि विकास निर्माणका क्षेत्रमा राम्रा काम गरेको उल्लेख गरे। तर, विगतमा आयोजना छनोट गर्दा आवश्यकताभन्दा पनि व्यक्तिको रुचि र प्रभाव हाबी हुने गरेको उनको टिप्पणी थियो।

‘पहिला विकास नै भएको थिएन भन्दिनँ, तर त्यतिबेला परियोजना छनोट व्यक्तिमा निर्भर हुन्थ्यो। भ्युटावरहरू बने, तर त्यसबाट आर्थिक उपार्जन हुन सकेन,’ उनले भने।

गजुरेलले विगतका सरकारको आयोजना छनोट प्रक्रिया प्रभावकारी हुन नसकेको बताए।

उनले दशैँअघि १५ जिल्लामा सञ्चालित विकास निर्माणका योजनाको अनुगमन गर्दा धेरै स्थानमा निर्माण व्यवसायीले काममा ढिलाइ गरेको र पटक–पटक म्याद थप गरिरहेको पाइएको जानकारी दिए।

उनका अनुसार वर्तमान सरकारले निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीसँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ।

‘सरकारले व्यवसायीलाई अन्याय गर्दैन। काम गर्न सहज वातावरण बनाउँछ र आवश्यक सहयोग पनि गर्छ। निर्माण व्यवसायीले पनि समयमै काम सम्पन्न गरिदिनुपर्छ,’ उनले भने।

गजुरेलले वर्तमान सरकार परम्परागत शैलीमा सञ्चालन नहुने स्पष्ट पार्दै सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने धारणा राखे। पार्टीको आफ्नै छुट्टै स्थान र महत्त्व हुने भन्दै उनले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताए।

विगतमा सरकार स्वतन्त्र रूपमा सञ्चालन हुन नपाउँदा विकास निर्माणका कामले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो।