डोल्पा जेलब्रेकका थप दुई कैदी पक्राउ, अझै दुई जना फरार


सुर्खेत । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका थप दुई जना कैदीबन्दी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका २८ वर्षीय धनबहादुर भन्ने हरिबहादुर बुढा रहेका छन्।

उनीहरू गत कात्तिक १४ गते करिब चार मिटर लामो सुरुङ खनेर कारागारबाट फरार भएका आठ जना कैदीबन्दीमध्येका हुन्। पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

प्रहरी नायव उपरीक्षक अनिल राज गिरीको कमान्डमा खटिएको प्रहरी टोलीले आइतबार त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँ नजिकैको जंगलमा हिँडिरहेको अवस्थामा उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।

कारागारबाट फरार भएका आठ जनामध्ये हालसम्म छ जना पक्राउ परिसकेका छन् भने बाँकी दुई जना अझै फरार रहेका छन्। फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।