नुवाकोटमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु


नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अनियन्त्रित मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खस्दा चालकसहित तीन जनाले ज्यान गुमाएका हुन् ।

सोमबार बिहान १०:५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोटको विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।

त्यस्तै, मोटरसाइकलमा सवार विदुर नगरपालिका–१३ निवासी ३१ वर्षीया बिन्दा थापामगर र २७ वर्षीया सुनिता थापामगरको पनि मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्‍याइएको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।