बालेन–रविको सम्बन्ध सुमधुर हुनुपर्छ, रास्वपा फुटे लोकतन्त्र संकटमा पर्छ : धमला


काठमाडौं । स्वतन्त्र नागरिक अभियानका संयोजक ऋषि धमलाले किसानलाई प्रविधिको प्रयोगमार्फत कृषि क्रान्ति गर्न सरकारले विशेष सहयोग गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र किसानको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

उनले सरकारको प्रमुख दायित्व सुशासन कायम गर्नु र भ्रष्टाचारीमाथि निष्पक्ष कारबाही गर्नु रहेको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रणबिना मुलुकमा सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ थियो ।

धमलाले बाढीपीडित र सुकुमबासीका समस्या अझै समाधान हुन नसकेको भन्दै सरकारले उनीहरूको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । पीडित नागरिकका समस्या बेवास्ता गरेर सरकारले जनताको विश्वास जित्न नसक्ने उनको धारणा थियो ।

उनले पछिल्लो समय बजारमा महँगी बढेको र पहिलेको तुलनामा व्यापारिक गतिविधि तथा चहलपहलसमेत घटेको बताए । जनताको दैनिक जीवनयापन सहज बनाउने गरी सरकारले आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने उनको सुझाव थियो ।

लोकतन्त्रप्रति आफ्नो विश्वास रहेको उल्लेख गर्दै धमलाले अब राजनीतिक दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश तथा जनताको हितमा काम गर्नुपर्ने बताए । प्रधानमन्त्री बालेन शाहलाई सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर अघि बढ्न उनले सुझाव दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचकाे मतभेदलाई लिएर पार्टी फुट्न सक्ने भन्दै आएकाे समाचारमा चिन्ता व्यक्त गर्दै धमलाले पार्टी विभाजन भए त्यसले मुलुकको लोकतान्त्रिक अभ्यासमा समेत नकारात्मक असर पार्न सक्ने बताए ।

उनले रास्वपाका सभापति रवि लामिछानेलाई पुराना राजनीतिक दलका नेताहरूको प्रभाव र भनाइमा नपर्न आग्रह गर्दै प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए । उनीहरूबीच सहकार्य र समझदारी कायम रहनुपर्ने उनको भनाइ थियो ।

यसैगरी, प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ उचाइ हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने धमलाले बताए । उक्त भ्रमणबाट दुई देशबीचको सम्बन्धमा महत्त्वपूर्ण उपलब्धि हासिल हुनुपर्ने र नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको धारणा थियो ।