भीमफेदी ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो


काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनाका बेला ईभीमा चालकसहित २० जना सवार थिए।

बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौँडा अस्पताल ल्याइएको थियो। दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेसँगै मृतकको संख्या १४ पुगेको डीएसपी थापाले जानकारी दिए। थप फेला परेका तीन जनाको पहिचान भने खुल्न बाँकी छ।

यसअघि पहिचान खुलेका मृतकहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपिका कुमारी यादव, सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, राम दुलार राय यादव, गुड्ड राय यादव, गायत्री देवी यादव र पुनम यादव रहेका छन्।

त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय सवारी चालक रविशंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन्।

अन्य तीन घाइतेलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ। रिफर हुनेमा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।