वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ


वीरगन्ज । वीरगन्ज कारागारबाट फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टामै पक्राउ परेका छन्। पर्साका डीएसपी चक्रबहादुर मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको हो।

पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईका अनुसार सीसीटीभी फुटेजको अध्ययन तथा विभिन्न प्राविधिक उपकरणबाट प्राप्त सूचनाको विश्लेषण गरी विशेष प्रहरी टोली परिचालन गरिएको थियो। सोही आधारमा बिहीबार दिउँसो करिब १ बजे उनलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।

एसपी भट्टराईले डीएसपी मल्लको नेतृत्वमा खटिएको टोलीले फरार भएको करिब पाँच घण्टाभित्रै कैदीलाई पक्राउ गरेको जानकारी दिए।

बिहीबार बिहान कारागारमा सरसफाइ गर्ने क्रममा पर्खालबाट हाम फालेर तुरहा फरार भएका थिए। जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनी विगत ११ वर्षदेखि कैद सजाय भोगिरहेका थिए।