चीन प्रस्थानअघि प्रधानमन्त्री बालेनसँग सांसदहरूको छलफल


२७ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय टोलीले प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान सवा ११ बजेदेखि सुरु भएको छलफलमा चीन भ्रमणको तयारी र भ्रमणका विषयमा कुराकानी भइरहेको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० जना सांसद आगामी आइतबार २९ कात्तिकमा चीन प्रस्थान गर्दैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमण ११ दिनसम्म चल्नेछ ।

भ्रमण टोलीमा पार्टीका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० सांसद सहभागी छन् ।

टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन् ।

चीन बसाइका क्रममा टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत विभिन्न सहरको भ्रमण गर्ने कार्यक्रम छ । चीन प्रस्थान गर्नुअघि सांसदहरूले प्रधानमन्त्रीसँग भेटेर छलफल गरेका हुन् ।