काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी पदपूर्ति गर्न आवेदन माग गरेको हो।
बैंकले प्रशासन सेवातर्फ अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक र सहायक द्वितीय श्रेणीको सहायक पदमा भर्ना गर्न लागेको छ। सहायक निर्देशकअन्तर्गत लेखा तथा लेखापरीक्षण, वाणिज्य कानुन र सूचना प्रविधि समूहका पदमा समेत आवेदन माग गरिएको छ।
विज्ञापनअनुसार खुला प्रतिस्पर्धाका अतिरिक्त महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपांगता भएका व्यक्ति र पिछडिएको क्षेत्रका उम्मेदवारका लागि समावेशी समूहबाट पनि पदपूर्ति गरिनेछ।
सहायक निर्देशक पदमा आवेदन दिन सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सूचनामा तोकिएको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। सूचना प्रविधि समूहका लागि कम्प्युटर, सूचना प्रविधि वा सम्बन्धित प्राविधिक विषयको शैक्षिक योग्यता आवश्यक पर्नेछ। सहायक पदका लागि भने मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह, कक्षा १२ वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
उमेरको हकमा सहायक निर्देशक पदका उम्मेदवार २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। महिला उम्मेदवारका लागि अधिकतम उमेर सीमा ४० वर्ष तोकिएको छ भने बैंकमा कार्यरत कर्मचारीका हकमा उमेरको सीमा लागू नहुने सूचनामा उल्लेख छ।
उम्मेदवारको छनोट पूर्वयोग्यता परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा गरिनेछ। आवश्यकताअनुसार प्रयोगात्मक परीक्षा पनि सञ्चालन हुन सक्ने बैंकले जनाएको छ।
दरखास्त दस्तुर सहायक निर्देशक पदका लागि एक हजार रुपैयाँ र सहायक पदका लागि आठ सय रुपैयाँ तोकिएको छ। थप समावेशी समूहमा आवेदन दिने उम्मेदवारले सहायक निर्देशकका लागि प्रतिग्रुप चार सय रुपैयाँ र सहायकका लागि प्रतिग्रुप तीन सय रुपैयाँ अतिरिक्त दस्तुर बुझाउनुपर्नेछ।
इच्छुक तथा योग्य नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट www.nrb.org.np को ‘Career’ खण्ड वा https://jobs.nrb.org.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदनका क्रममा शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो तथा सम्बन्धित समावेशी समूहका प्रमाणपत्र अपलोड गर्नुपर्नेछ। तोकिएको म्यादभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर थप सात दिनसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ।
परीक्षाको पाठ्यक्रम, परीक्षा केन्द्र तथा अन्य विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने सूचनामा उल्लेख छ।




प्रतिक्रिया