२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय संसदीय टोलीको ११ दिने भ्रमण कार्यतालिका तय भएको छ।
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा आइतबार २९ कात्तिकमा चीन प्रस्थान गर्ने टोलीले सिचुवान प्रान्तको छेङ्दुबाट भ्रमण सुरु गर्नेछ। विभिन्न प्रान्तका औद्योगिक, प्राविधिक, शैक्षिक तथा राजनीतिक क्षेत्रको अवलोकनपछि टोली बेइजिङ पुगेर भ्रमण टुंग्याउनेछ।
भ्रमणको दोस्रो दिन नोभेम्बर १६ मा टोलीले सिचुवानस्थित ‘हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्क’ को अवलोकन गर्नेछ। त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीको पार्टी स्कुलका नेताहरूसँग विचार आदानप्रदान गर्ने कार्यक्रम छ। उक्त छलफलमा रास्वपाका तर्फबाट महामन्त्री आचार्यले धारणा राख्नेछन्।
नोभेम्बर १७ मा टोलीले सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेन्चुआन क्षेत्रको भ्रमण गर्नेछ। भूकम्पपछिको पुनर्निर्माण र विपद् व्यवस्थापनका अनुभवबारे अध्ययन गर्ने टोलीको कार्यक्रम छ।
नोभेम्बर १८ मा छेङ्दुस्थित ‘जायन्ट पाण्डा ब्रीडिङ’ केन्द्रको अवलोकन गर्नेछ। सोही दिन सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा पनि सहभागी हुनेछ।
नोभेम्बर १९ मा टोली जेजियाङ प्रान्त जानेछ। त्यहाँ नोभेम्बर २० मा रोबोटिक्स प्रविधिसँग सम्बन्धित क्षेत्र र औद्योगिक पार्कको अवलोकन गर्ने कार्यक्रम छ। नोभेम्बर २१ मा तीव्र गतिको रेलमार्फत यात्रा गर्दै यीवू अन्तर्राष्ट्रिय व्यापार केन्द्र पुग्नेछ। त्यहाँ व्यापारिक गतिविधि तथा ग्रामीण सरकार सञ्चालन र तल्लो तहमा पार्टी निर्माणसम्बन्धी अभ्यासबारे जानकारी लिने तालिका छ।
नोभेम्बर २२ मा जेजियाङ विश्वविद्यालयमा ‘थिंक ट्यांक’ विकाससम्बन्धी अवलोकन हुनेछ। त्यसको भोलिपल्ट नोभेम्बर २३ मा जिन्ह्वामा आयोजना हुने नेपाल–चीन ‘इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्स’ मा टोली सहभागी हुनेछ। उद्यमीहरूको सहभागिता रहने उक्त कार्यक्रममा महामन्त्री आचार्यले रास्वपाका तर्फबाट धारणा राख्नेछन्।
भ्रमणको अन्तिम चरणमा नोभेम्बर २४ मा टोली बेइजिङ पुग्नेछ। त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटवार्ता, पार्टीका विज्ञहरूसँग छलफल तथा सीपीसीको ऐतिहासिक संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। ११ दिने भ्रमण पूरा गरी टोली नोभेम्बर २६ मा स्वदेश फर्कनेछ।
यसैबीच, शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको रास्वपा टोलीसँग सिंहदरबारमा छलफल गरेका थिए। प्रधानमन्त्रीले भ्रमणलाई घुमघाममा मात्र सीमित नराखी नेपाल–चीन आर्थिक साझेदारी, व्यापार, प्रविधि, पर्यटन र कृषिका क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्न निर्देशन दिएका थिए।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीले चीनको आर्थिक विकास, प्रविधि र विभिन्न क्षेत्रमा हासिल गरेको अनुभवबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका थिए।
महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।




प्रतिक्रिया