स्थानीय निर्वाचनको तयारीमा एमाले, राष्ट्रिय कार्यकर्ता भेलामा ३ हजारभन्दा बढी सहभागी हुने


काठमाडौं । नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। भेलामा देशभरबाट ३ हजार १६४ जना नेता, जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।

भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले तयारीलाई तीव्रता दिएको छ। यसैक्रममा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा तयारी बैठक बसेको थियो। बैठकमा प्रदेशगत सहभागिता, प्रतिनिधिहरूको व्यवस्थापन र कार्यक्रम सञ्चालनका विषयमा छलफल गरिएको थियो।

बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले भेलाको मुख्य उद्देश्य स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टी पङ्क्तिमा साझा सन्देश प्रवाह गर्नु रहेको बताए। पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीविकाका मुद्दा र आगामी चुनौतीबारे एकीकृत धारणा बनाउँदै नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा केन्द्रित गरिने उनको भनाइ थियो।

भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायका ८१ प्रतिनिधि, प्रदेश तथा प्रवासी सङ्गठनका ५५ प्रतिनिधि र जिल्ला तहका ४४० प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै, पालिका कमिटीबाट १ हजार ५०६ जना, सङ्घीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना र प्रदेशसभाबाट १५५ जनाको सहभागिता रहनेछ।

स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसङ्गठनका ९६ प्रतिनिधि पनि भेलामा सहभागी हुनेछन्।

काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।

तयारी बैठकमा सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीसहितका नेताहरू सहभागी थिए। विभिन्न प्रदेशका लागि तोकिएका फोकल पर्सनहरूले आ–आफ्नो क्षेत्रबाट हुने सहभागिता र तयारीबारे जानकारी गराएका थिए।

सङ्गठन विभाग प्रमुख ढकालका अनुसार भेलास्थलमा सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार र स्वयंसेवक परिचालनलगायतका काम अघि बढाइएको छ। सहभागीको आवागमन सहज बनाउन निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न पनि पार्टीले आग्रह गरेको छ।

एमालेले भेलालाई सङ्गठनात्मक एकता बलियो बनाउने, पार्टीभित्र साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई गति दिने अवसरका रूपमा लिएको छ।