काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले वर्तमान सरकार नागरिक समाज, सञ्चारजगत् र राजनीतिक दलहरूसँग सहकार्य तथा संवाद गर्ने दिशामा नदेखिएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री बालेन नेतृत्वको सरकार प्रश्नहरूको जवाफ दिनसमेत तयार नरहेको टिप्पणी गरे । कूटनीतिक र राष्ट्रिय महत्त्वका विषयमा सरकारले राजनीतिक सहमति जुटाउन नसकेको उनको भनाइ थियो । “प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा चलिरहेको छ, यसअघि संयुक्त राष्ट्रसंघको फोरममा जानुअघि पनि सर्वदलीय बैठक बोलाइएन,” पौडेलले भने, “यसले सरकारमा राजनीतिक परिपक्वता नदेखिएको पुष्टि गर्छ ।”
मुलुकको आर्थिक र सुशासनको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले बजारमा महँगी चुलिएको तथा शिक्षा र बिजुलीजस्ता अत्यावश्यक क्षेत्रमा कर बढाइएको बताए । भौतिक पूर्वाधार निर्माणका काम ठप्पप्रायः रहेको र सुशासनको मामिलामा सरकार कमजोर देखिएको उनको विश्लेषण छ ।
पौडेलले प्रशासनिक र सुरक्षा संयन्त्रमा समेत अन्योल सिर्जना भएको दाबी गरे । “कर्मचारीतन्त्र नयाँ काममा कलम चोबेर हस्ताक्षर गर्ने पक्षमा छैन, न्यायालय र प्रहरी प्रशासन सबैतिर भद्रगोल बनाइएको छ,” उनले भने ।
मुलुकको आर्थिक तरलता र लगानीको वातावरणबारे बोल्दै नेता पौडेलले दुई तिहाइ बहुमतको सरकार हुँदासमेत निजी क्षेत्र उत्साहित हुन नसकेको बताए । बैंकमा पर्याप्त पैसा थुप्रिए पनि व्यवसायीहरूले ढुक्कसँग ऋण लिएर लगानी गर्ने वातावरण नबनेको उनको भनाइ छ ।
यसैगरी, सरकारका कमीकमजोरीमाथि प्रश्न उठाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत गालीगलौजमा उत्रिने गरेको भन्दै उनले असन्तुष्टि पोखे । लोकतान्त्रिक व्यवस्थामा आलोचना र प्रश्न सुन्ने धैर्य सरकार र सत्तारूढ दलका कार्यकर्तामा हुनुपर्नेमा उनले जोड दिए ।




प्रतिक्रिया