काठमाडौँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले दुई तिहाइ बहुमत हुँदासमेत वर्तमान सरकारको आयुलाई लिएर भइरहेको चर्चाको जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गैरेले संसद्मा कांग्रेस, एमाले लगायतका दलको अंकगणितले बालेन नेतृत्वको सरकार ढल्ने अवस्था नरहेको स्पष्ट पारे । सरकार ढलेमा आफ्नै अक्षमता र सरकार निर्माणमा संलग्न ‘अदृश्य शक्ति’ कै कारण ढल्ने उनको दाबी थियो । “रास्वपाको दुई तिहाइको सरकार हुँदा पनि आजै र भोलि नै सरकार ढल्छ भनेर चर्चा चल्न थालेको छ,” गैरेले भने, “यो सरकार बदलिन सक्छ भने रास्वपा र बालेनकै कारण बदलिन सक्छ ।”
नेता गैरेले राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति सुव्यवस्था र न्यायालयलाई स्वतन्त्र रूपमा अघि बढाउने सवालमा सरकार दिनप्रतिदिन कमजोर बन्दै गएको आरोप लगाए । बजारमा महँगी अनियन्त्रित भएको तथा भोटेकोशीका बाढीपीडितले राहत पाउनुको साटो अस्थायी टहरामा बढेको बिजुलीको बिल पुगेर थप पीडित हुनुपरेको उनले उल्लेख गरे ।
प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणको प्रसंग कोट्याउँदै गैरेले विगतमा नेपालले पनि भारतको जमिन मिचेको भनी दिएको अभिव्यक्तिप्रति माफी मागेर मात्र भ्रमणमा जान सुझाव दिए । “नेपालले भारतको एक इन्च पनि सीमा मिचेको छैन,” उनले भने, “गलत अभिव्यक्तिप्रति माफी मागेर भारत जानुपर्छ र भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन सके बालेनलाई सलाम (स्यालुट) गर्नुपर्छ ।”
उनले बालेन सरकार आम नेपाली जनताका साथै रास्वपा सभापति रवि लामिछानेका लागि समेत बोझ बनिसकेको जिकिर गरे । सञ्चारकर्मीलाई गिरफ्तार गर्ने, दलका नेताहरूको घर र सञ्चारगृहमा गाडी तेर्स्याउने,पत्रकारलाई गिरफ्तार गर्ने जस्ता गतिविधिले सरकार लोकतान्त्रिक मूल्यमान्यताविपरीत हिँडेको पुष्टि हुने उनको भनाइ छ ।
सुकुम्बासी र बाढीपीडितका समस्या समाधान गर्न, बजार नियन्त्रण गर्न तथा राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न सरकार पूर्णतः असफल भइसकेको दाबी गर्दै गैरेले सरकारकै कमजोरीका कारण मुलुक छिट्टै मध्यावधि निर्वाचनको बाटोमा जान बाध्य हुने चेतावनी दिए ।




प्रतिक्रिया