छठको दोस्रो दिन आज खरना, साँझ खीरको प्रसाद ग्रहण गरिँदै


२८ कात्तिक, काठमाडौं । सूर्यदेवको आराधना र कठोर व्रतका रूपमा मनाइने छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । यस अवसरमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ चामल, सक्खर र दूध मिसाएर बनाइएको खीर प्रसादका रूपमा ग्रहण गर्नेछन् ।

खरना विधिअन्तर्गत व्रतालुहरूले शुद्धता र निष्ठालाई विशेष ध्यान दिँदै खीर तयार पार्छन् । उक्त खीर परिवारका सदस्यहरूले प्रसादका रूपमा ग्रहण गर्नुका साथै छठ पर्व नमनाउने आफन्त तथा छिमेकीको घरमा समेत बाँड्ने परम्परा छ ।

सन्तान प्राप्ति, पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित चार दिनसम्म मनाइने छठ पर्व शुक्रबार नहाय–खाय विधिबाट सुरु भएको हो । पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी शुद्ध तथा सात्त्विक भोजन ग्रहण गरेका थिए ।

छठको तेस्रो दिन अर्थात् आइतबार मुख्य पूजा गरिनेछ । यस दिन व्रतालुहरूले विभिन्न पूजासामग्रीसहित नदी, पोखरी तथा अन्य जलाशयका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् । यस विधिलाई ‘सौझकारक’ भनिन्छ ।

पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुनेछ । उदाउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई ‘पारन’ भनिन्छ ।

छठ पूजामा बाँसबाट बनेका ढाकी, डग्री तथा माटोका कोसिया, कुरबार र हात्तीका आकृतिलगायत सामग्री प्रयोग गरिन्छ । सूर्यदेवलाई चढाइने प्रसादमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा तथा विभिन्न प्रकारका मिठाई र फलफूल समावेश गरिन्छ ।

छठ पर्वमा व्रतालुहरूले मुख्य अर्घ्यदेखि पारनसम्म करिब ४८ घण्टा पानीसमेत नपिई उपवास बस्ने परम्परा छ । सूर्यदेवलाई अर्पण गरिने प्रसाद तयार गर्नेदेखि पूजाका सम्पूर्ण विधि पूरा गर्दासम्म शुद्धता र निष्ठालाई विशेष महत्त्व दिइने भएकाले छठलाई कठोर तथा आस्थाको महापर्वका रूपमा लिइन्छ ।

छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।