मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्।

प्रदेश प्रमुखलाई सम्बोधन गरी लेखिएको पत्रमा उनले वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताएका छन्।

यादवले २०८२ मंसिर १९ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेका थिए। उनले शनिबार (कात्तिक २८ गते) देखि लागू हुने गरी राजीनामा पेस गरेको जनाएका छन्।

राजीनामा पत्रमार्फत उनले आफ्नो कार्यकालमा प्रदेशको विकास, सुशासन र समृद्धिका लागि सहयोग गर्ने प्रदेश प्रमुख, प्रदेशसभा सदस्य, मन्त्रिपरिषद्का सहकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण प्रदेशवासीप्रति धन्यवाद व्यक्त गरेका छन्।

यसअघि शनिबार दिउँसो प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै यादवले प्रदेशसभाको अंकगणितीय जोडघटाउमा अल्झिनुभन्दा प्रदेशमा राजनीतिक स्थिरता कायम गर्न र निकास दिन आफूले राजीनामा दिने निर्णय गरेको बताएका थिए।

मुख्यमन्त्री यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढ्ने भएको छ।