छठले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने बताएका छन् ।

छठ पर्व–२०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले मुलुकमा देखिएका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीको सामना गर्न आपसी संवाद, सहकार्य र साझा समझदारी आवश्यक रहेको बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले सामाजिक सद्भाव, लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकतालाई थप मजबुत बनाउँदै समृद्धिको साझा लक्ष्य हासिल गर्न सबै पक्षलाई एकजुट हुन आग्रह गरेका छन् ।

उनका अनुसार छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समानता, सहिष्णुता, त्याग र समर्पणको भावना विकास गर्न प्रेरित गर्दछ । सूर्यले सबै प्राणीलाई समान रूपमा प्रकाश र ऊर्जा प्रदान गरेझैँ समाजमा पनि विभेदरहित व्यवहार र सहकार्यको संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ ।

सूर्य र प्रकृतिप्रति श्रद्धा तथा कृतज्ञता प्रकट गरिने छठ पर्वले अनुशासन, निष्ठा र प्रकृति संरक्षणको महत्त्वसमेत उजागर गर्ने उनले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री आचार्यले परम्परागत रूपमा तराई र मधेसमा विशेष उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै जानु नेपाली समाजको धार्मिक तथा सांस्कृतिक विविधता र सहअस्तित्वको सकारात्मक उदाहरण भएको बताएका छन् ।

उनले सामाजिक विभेद, कुरीति र विकृति अन्त्य गर्दै न्यायपूर्ण तथा समतामूलक समाज निर्माणका लागि सबैलाई प्रतिबद्ध हुन पनि आग्रह गरेका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्रीले लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति, भाषा, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएका छन् । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य प्राप्तिका लागि सामाजिक सद्भाव, सांस्कृतिक एकता र समावेशी विकासलाई सँगसँगै अघि बढाउने प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले बताएका छन् ।