काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २२ करोड मूल्य बराबरको लागुऔषध सेतो हेरोइन बरामद गरेको छ । थाइल्यान्डबाट काठमाडौँ ल्याएको सेतो हेरोइन बरामद गरिएको हो ।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार प्रहरीले साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ । बरामद सेतो हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड पर्ने अनुमान गरिएको छ ।
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारे छन् । शनिबार बिहान प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा उनले ल्याएको लगेजमा खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएको अवस्थामा सेतो हेरोइन फेला परेको थियो ।
पक्राउ परेका भारतीय यसअघि पनि दुई पटक लाओसबाट काठमाडौँ आएर भारत गएको ट्राभल हिस्ट्री भेटिएको छ । उनले जिम्बाम्बे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमण गरेको यात्रा विवरण देखिएको छ ।
उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको अनुसन्धानबाट खुलेको एसएसपी बोहराले जानकारी दिए । आरोपीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए ।




प्रतिक्रिया