मंसिरका लागि वाणिज्य बैंकहरूको ब्याजदर स्थिर, औसत दर ४ प्रतिशतभन्दा तल झर्‍यो


काठमाडौं । वाणिज्य बैंकहरूले २०८३ मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि केही बैंकले घटाउँदा समग्र औसत ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ।

कात्तिकमा २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४ दशमलव ०३ प्रतिशत रहेकोमा मंसिरका लागि शून्य दशमलव ११ प्रतिशत विन्दुले घटेर ३ दशमलव ९२ प्रतिशत कायम भएको छ।

मंसिरका लागि कुल २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिककै ब्याजदरलाई स्थिर राखेका छन् भने ६ वटा बैंकले घटाएका छन्। कुनै पनि बैंकले मंसिरका लागि ब्याजदर बढाएका छैनन्।

ब्याजदर घटाउने बैंकहरूमा माछापुच्छ्रे बैंक अग्रस्थानमा देखिएको छ। कात्तिकमा ४ दशमलव ५ प्रतिशत ब्याजदर दिएको माछापुच्छ्रेले मंसिरमा एक प्रतिशत विन्दुले घटाएर ३ दशमलव ५ प्रतिशतमा झारेको छ, जुन वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा न्यून दर हो। त्यस्तै, कृषि विकास बैंकले शून्य दशमलव ५ प्रतिशत विन्दुले घटाएर ४ दशमलव १५ प्रतिशतबाट ३ दशमलव ६५ प्रतिशत कायम गरेको छ।

एनएमबि बैंक र लक्ष्मी सन्राइज बैंकले समान शून्य दशमलव २५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। कात्तिकमा ४ दशमलव ५ प्रतिशत रहेको एनएमबिको ब्याजदर मंसिरमा ४ दशमलव २५ प्रतिशत कायम भएको छ भने लक्ष्मी सन्राइजको ४ प्रतिशतबाट घटेर ३ दशमलव ७५ प्रतिशतमा झरेको छ। यसैगरी, कुमारी बैंकले शून्य दशमलव ०९ प्रतिशत विन्दुले घटाएर ३ दशमलव ६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले शून्य दशमलव ०५ प्रतिशत विन्दुले घटाएर ३ दशमलव ६५ प्रतिशत कायम गरेका छन्।

मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सर्वाधिक ब्याजदर दिने बैंकमा सानिमा बैंक कायम भएको छ। सानिमाले कात्तिककै ४ दशमलव ५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।

त्यसैगरी, प्रभु बैंक र एनएमबि बैंकले ४ दशमलव २५ प्रतिशत तथा नेपाल बैंकले ४ दशमलव १५ प्रतिशत अधिकतम ब्याजदर तोकेका छन्। ग्लोबल आईएमई, हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबीआई र प्राइम कमर्सियल बैंक गरी सातवटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा समान ४ प्रतिशत अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्।

यस्तै, सिटिजन्स बैंकले ३ दशमलव ८५ प्रतिशत, सिद्धार्थ बैंकले ३ दशमलव ७६ प्रतिशत तथा एभरेष्ट र नबिल बैंकले ३ दशमलव ७५ प्रतिशत ब्याजदरलाई स्थिर राखेका छन्।