युद्धको छाया हट्दै जाँदा कच्चा तेलको ओरालो यात्रा


काठमाडौँ । इरानविरुद्धको अमेरिका-इजरायल युद्धका कारण आकाशिएको कच्चा तेलको मूल्यमा पछिल्लो समय गिरावट देखिन थालेको छ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड फ्युचर्स ०.४९ प्रतिशत (४७ सेन्ट) ले घटेर प्रतिब्यारेल ९५.३७ डलरमा झरेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेल ०.२६ प्रतिशत (२३ सेन्ट) ले ओरालो लाग्दै ८८.३३ डलर कायम भएको छ। अघिल्लो साता मात्रै यी दुवै सूचकाङ्कमा क्रमशः १६ प्रतिशत र १३ प्रतिशतको भारी गिरावट आएको थियो।

विश्वको कुल तेल आपूर्तिमा महत्त्वपूर्ण हिस्सा ओगट्ने मध्यपूर्वको होर्मुज जलडमरू हुँदै हुने इन्धन ढुवानी लगभग युद्धअघिकै लयमा फर्किएको छ। ढुवानी अवरोध कम भएसँगै बजारमा त्रासको वातावरण हटेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार मध्यपूर्वको निर्यात विश्वव्यापी मागभन्दा तीव्र गतिमा पुनरुत्थान भइरहेको छ। यस वर्षको चौथो त्रैमासिकमा विश्व तेल आपूर्ति औसत प्रतिदिन १० करोड ५० लाख ब्यारेल पुग्ने अनुमान छ, जुन अनुमानित मागभन्दा प्रतिदिन १७ लाख ब्यारेलले बढी हो।

बजारको चाप कम गर्न आईईएले आफ्ना सदस्य राष्ट्रहरूको आपत्कालीन भण्डारबाट कीर्तिमानी परिमाणमा तेल जारी गर्ने प्रक्रियालाई निरन्तरता दिएको छ। जसअनुसार आगामी फेब्रुअरीको अन्त्यसम्ममा १ करोड ५० लाख ब्यारेल डिजेलसहित कुल ७ करोड १० लाख ब्यारेल तेल बजारमा पठाइनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्तरिक बन्दरगाहहरूबीच इन्धन ढुवानी सहज बनाउन ‘जोन्स एक्ट’अन्तर्गत दिइएको छुटलाई थप ९० दिन लम्ब्याएका छन्। अमेरिकी ध्वजावाहक जहाज मात्र प्रयोग गर्नुपर्ने बाध्यता हटेपछि विदेशी ट्याङ्करहरूमार्फत तेल र ग्यासोलिन ओसारपसार गर्न सहज भई मूल्यमा थप दबाब परेको हो।