बालेन र रविबीच द्वन्द्व चर्कँदै गएको छ: महेश बस्नेत


काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आन्तरिक अन्तर्विरोध चर्कँदै गएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले बालेन सरकारको कार्यशैली, ‘जेनजी आन्दोलन’ र आन्तरिक राजनीतिक समीकरणबारे टिप्पणी गरेका छन् ।

बस्नेतले प्रम बालेन र रास्वपा सभापति लामिछानेबीचको दूरी बढ्दै जाँदा आगामी दिनमा अनपेक्षित राजनीतिक घटनाक्रम विकसित हुन सक्ने बताए । उनले भने, ‘रवि र बालेनको अन्तर्विरोध बढ्दै जाँदा पासपोर्ट दुरुपयोग र सहकारी ठगीको विषयमा प्रधानमन्त्री बालेनले रविलाई गिरफ्तार गर्ने र रविले संसदीय दलको नेताबाट बालेनलाई हटाउने अवस्था आएमा आश्चर्य नमाने हुन्छ ।’

उनले रास्वपा सभापति लामिछानेले जनकपुरमा गएर छठ पूजा गर्नु र अमरेश सिंहको मेची–काली जागरण यात्रामा सहभागी हुनुलाई तराई–मधेशमा ‘बालेन होइन, अब रवि हो’ भन्ने सन्देश दिन खोजिएको राजनीतिक स्टन्टको संज्ञा दिए । प्रधानमन्त्री बालेन शाह भने अहिले तराई–मधेश जान डराइरहेको बस्नेतको आरोप छ । साथै, लामिछानेले सांसद पदबाट राजीनामा दिएर वडामा उठ्न आउँछु भन्नुले वडा तहसम्म रास्वपाको संगठन र कार्यकर्ता नरहेको पुष्टि भएको बस्नेतले जिकिर गरे ।

‘जेनजी आन्दोलन कब्जा गरेर सत्तामा पुगे’
नेता बस्नेतले ‘जेनजी आन्दोलन’ तत्कालीन सत्ता परिवर्तनका लागि नभई अवस्था परिवर्तनका लागि भएको तर बाह्य हस्तक्षेपका कारण हिंसात्मक बनेको दाबी गरे । टीओबी र बारबरालगायतका फाउन्डेसनको हस्तक्षेपका कारण सिंहदरबार, सर्वोच्च अदालत, नेताका घर तथा व्यापारिक प्रतिष्ठानमा आगजनी भएको र प्रहरीमाथि आक्रमण भएको उनको भनाइ छ ।

‘जेनजी आन्दोलनलाई हिंस्रक र घातक बनाउन बालेन र सुधन गुरुङ लागे । उनीहरूले आन्दोलन कब्जा गरे र सामाजिक सञ्जालको अल्गोरिदम प्रयोग गरेर राज्यसत्ता कब्जा गरे,’ बस्नेतले भने, ‘विगत ३५ वर्षमा केही भएन भनेर पुराना दललाई गाली गर्ने काम भयो, तर अहिले वास्तविक जेनजी घाइते र पीडितहरू एमालेको विश्लेषण सही रहेछ भन्दै सहमत हुन थालेका छन् ।’

पुराना दलको समान धारणा र गगन थापाको प्रसंग
पहिले जेनजी आन्दोलनलाई हेर्ने विषयमा कांग्रेस, एमाले र नेकपाबीच फरक धारणा रहे पनि पछिल्लो समय तीनै दल एकै ठाउँमा उभिएको बस्नेतले बताए । बिचौलिया इनम सापकोटा प्रकरणमा कांग्रेस नेता गगन थापालाई मुछेर गिरफ्तार गर्ने प्रयत्न भएपछि थापा हच्किएर बालेन सरकारको विरोधमा उत्रिएको बस्नेतको दाबी छ । उनले भने, ‘गगनजी गुण्डु आएर अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु मधेश सरकारको विषयमा कुरा गर्न र इनम प्रकरणमा मुछिएपछि हच्किएर हो । इनम प्रकरणले कांग्रेसको देउवा समूहमाथि अन्याय भयो कि भन्ने आशंकालाई पुष्टि गरेको छ ।’

सरकारको सात महिना र वैदेशिक ऋणबारे टिप्पणी
सात महिनाको अवधिमा बालेन सरकार पूर्ण रूपमा असफल भएको र ओरालो यात्रामा लागेको बस्नेतले टिप्पणी गरे । सरकारले सेवा प्रवाहमा अनलाइनको नारा दिए पनि सरकारी कार्यालयमा सेवाग्राहीको लामो लाइन नहटेको, वर्षायाममा सुकुम्बासी बस्तीमा डोजर चलाइएको र प्रधानमन्त्री राहत कोषमा रकम थुप्रिँदा पनि भोटेकोशीका बाढीपीडितले चाडबाडमा पनि खान नपाएको भन्दै उनले सरकारको आलोचना गरे ।

यसैगरी, हिजो वैदेशिक ऋणको चर्को विरोध गर्ने रास्वपा सरकारमा गएपछि सबैभन्दा बढी वैदेशिक ऋण लिएको बस्नेतले उल्लेख गरे । बस्नेतले भने, ‘वैदेशिक ऋण ल्याएर उत्पादनमा लगानी गर्दा डराउनु पर्दैन, तर ऋण ल्याएर दुरुपयोग र भ्रष्टाचार गर्नु हुँदैन ।’

विदेश नीति र आगामी निर्वाचनको दाबी
केपी शर्मा ओली नेतृत्वको सरकारले भू-परिवेष्ठित नेपाललाई भू-जडित बनाएको, चुच्चे नक्सा जारी गरेको तथा भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर देशहितमा काम गरेको बस्नेतले दाबी गरे । प्रधानमन्त्री बालेनले भारत भ्रमणलाई नेपालको विकासमा प्रयोग गर्नुपर्ने र विगतमा ‘भारतको जमिन नेपालले मिचेको’ भनी संसद्मा दिएको अभिव्यक्तिबारे दिल्लीमा गएर स्पष्ट पारेर आउनुपर्ने बस्नेतले बताए ।

कर्मचारी, प्रहरी, उद्योगी–व्यवसायी, नागरिक समाज, पत्रकार र बुद्धिजीवी कोही पनि वर्तमान सरकारको पक्षमा नरहेको दाबी गर्दै नेता बस्नेतले सरकार नसच्चिए सडक र सदन दुवै ठाउँबाट प्रतिपक्षले कडा दबाब सिर्जना गर्ने चेतावनी दिए । सरकार नसच्चिए सक्किने उनले दाबी गरे ।

यसैबीच, नेता बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो, कांग्रेस दोस्रो, नेकपा तेस्रो र रास्वपा चौथो शक्ति बन्ने दाबी गरे ।